२०८१ बैशाख २७ गते बिहिबार
ट्रेन्डिङ

राष्ट्रपतिबारे सत्ता गठबन्धनमा मतभिन्नता, नयाँ समीकरणको चर्चा

SansherOnline SansherOnline
शुक्रबार ०५, फागुन २०७९ ०५:३७
राष्ट्रपतिबारे सत्ता गठबन्धनमा मतभिन्नता, नयाँ समीकरणको चर्चा


  
काठमाडौं : नेकपा एमालेलगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मनस्थिति परिवर्तन भएसँगै सत्ता समीकरणमा हलचल पैदा गरेको छ । राष्ट्रपति चयनमा पुस १० गते भएको सहमति विपरीत प्रचण्डले राष्ट्रिय सहमति खोजिनुपर्ने अडान कायम राखेकाले सत्ता गठबन्धनमा धरमर सुरु भएको हो । 
 
एमालेले कुनैपनि हालतमा आफूले सिफारिस गरेको उम्मेदवार राष्ट्रपति हुनुपर्ने अडान लिएको छ भने कांग्रेस राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले ब्याक बोनका रूपमा भूमिका खेलिरहेको छ । राष्ट्रपतिका विषयमा माओवादी केन्द्रभित्र पनि दुई धार देखिएको छ । एउटा समूहले यही गठबन्धनभित्रबाटै राष्ट्रपति बनाउनुपर्ने बताइरहँदा अर्कोले दलविहीन व्यक्तिलाई बनाउनुपर्नेमा जोड दिइरहेको छ । 
 
माओवादी केन्द्रका केही नेता आगामी निर्वाचन र वाम गठबन्धनलाई समेत ध्यान दिएर एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धनलाई टुटाउने शक्तिहरू परिचालन भएको दाबी गर्नुभएको छ । 
 
माओवादीका केही शीर्ष नेताहरूले अहिलेको अवस्थालाई मात्रै ध्यान दिने नभई पार्टीलाई भोलिका दिनमा पनि बचाएर लैजान वामपन्थी शक्तिहरूबीच नै सहकार्य गर्नुपर्छ भन्ने सुझाव पनि दिएका छन् । सहकार्य र गठबन्धन फेरिरहँदा जनमानसमा राम्रो सन्देश नजाने र एमालेलाई बाहिर राखेर वाम गठबन्धन वा सहकार्य गर्दा पनि एमालेभन्दा ठुलो हुने अवस्था नभएकाले एमालेलाई चिढ्याउनेभन्दा फकाउने नीतिमा गए परिस्थिति अनुकूल हुन सक्ने सुझाव समेत आएको छ । 
 
यता, सरकारबाट बाहिरिएपछि केन्द्रदेखि प्रदेशसम्म सत्ता छोड्नुपर्ने एमालेको बाध्यता छ । एमालेभित्र पनि दुई धारबीच छलफल र बहस भइरहेको छ । जसरी पनि माओवादीलाई फकाएर राष्ट्रपति आफ्नो भागमा पार्ने रणनीति एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएका छन् । यता, माओवादी केन्द्रका नेता, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हालको गठबन्धन कुनै हालतमा नभत्किने ठोकुवा गर्नुभएको छ । 
 
यदि एमालेले राष्ट्रपति नपाए सरकारबाट बाहिरिनुपर्ने परिस्थिति बनेमा कांग्रेसले प्रचण्डलाई सहयोग गर्ने देखिएको छ । कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले राष्ट्रपतिमा आफूहरूलाई सहयोग आउने विश्वास व्यक्त गर्नुभएको छ । 
 
यदि हालको गठबन्धन भत्किने खतरा भएमा कांग्रेसको समर्थन लिएर बाँकी दलहरूलाई मिलाउँदै प्रचण्ड पुनः प्रधानमन्त्री नै बन्ने अहिलेसम्मको परिस्थिति देखिन्छ । 
 

प्रतिक्रिया