२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

जंगलका बाँदर आहाराको खोजीका लागि मानवबस्तीमा बैतडीका स्थानीय हैरान

SansherOnline SansherOnline
बिहिबार ०४, फागुन २०७९ ०३:०४
जंगलका बाँदर आहाराको खोजीका लागि मानवबस्तीमा  बैतडीका स्थानीय हैरान

बैतडी : बैतडीका विभिन्न स्थानमा बाँदर बस्तीमा पस्न थालेपछि स्थानीय नागरिक हैरान भएका छन् । खानेकुरा खोज्नका लागि बाँदरहरु बस्तीमा पस्न थालेपछि नागरिक समस्यामा परेका हुन् । 

जिल्लाको दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाको केही वडामा बाँदरले आतंक मच्चाएका छन् । जंगलबाट समेत बस्तीमै बाँदर आउन थालेका दशरथचन्द नगरपालिका १ गुरुखोलाका हरिना भट्टले बताइन् । जंगल छोडेर बाँदरहरु घरभित्रै पस्न थालेको उनले बताइन् । सडक छेउछाउ हुँदै बस्तीमा बाँदरहरु पस्दा निकै समस्या भएको उनले बताइन् । उनले भनिन् ‘बाँदरहरु घरभित्रै पस्न थालेपछि समस्या भएको छ । भित्र राखेको अन्नसमेत बाँदरले खान थालेका छन् ।’

जंगलका बाँदर आहाराको खोजीका लागि मानवबस्तीमा पस्न थालेका दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए । खेतबारीमा लगाएको सबै अन्न बाँदरले नष्ट गर्न थालेको उनले बताए । उनले भने ‘बारीमा लगाएको तरकारी समेत बाँदरले सखाप पार्न थालेको छ । बाँदरले घरभित्रकै अन्न खाइरहेका छन् ।’

जंगलमा सुख्खापनका कारण पालुवा नआएकाले बाँदरहरु खानाको खोजीमा गाउँबस्तीमा पस्न थालेका छन् । सडक छेउछाउमा फालिएका केही वस्तु पाइने भएकाले बाँदरहरु सडक नजिकका बस्तीमा पस्न थालेका हुन् । सडक छेउछेउमा ढुकेर बसेका बाँदरहरु मान्छे घरमा नभएका बेला घरभित्र पस्ने गरेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिकाका धेरै स्थानमा बाँदरको आतंक रहेको स्थानीय डम्मर टमाटाले बताए । बाँदरकै कारण खेतबारी समेत बाँझो छाडेको उनले बताए । उनले भने ‘बाँदरले खेतबारीमा लगाएको अन्न केही बाँकी नराखेपछि खेतबारी बाँझै छोडेका छौं ।’

बाँदरका कारण धेरै जसो घरपरिवार पलायन समेत भएका टमाटाले बताए । बाँदरले खेतबारीमा लगाएको अन्न केही बाँकी नराखेपछि धेरैले बसाँईसराइ गरेका उनले बताए । 

बाँदरले खेतबारीमा लगाएको अन्न केही बाँकी नराख्दा स्थानीयहरु हैरान भएका छन् । बाँदर धपाउने खालका कार्यक्रम ल्याउन उनीहरुले स्थानीय सरकारसंग माग समेत गरेका छन् । 

प्रतिक्रिया