२०८१ बैशाख ०५ गते बुधबार
ट्रेन्डिङ

तुइनबाट खसेर दार्चुलामा बालक बेपत्ता

SansherOnline SansherOnline
शनिबार २३, पुष २०७९ ०६:४०
तुइनबाट खसेर दार्चुलामा बालक बेपत्ता

दार्चुला: ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन्। बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन्।

ब्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए। घटना बिहीबारको भएको भए पनि शनिबार मात्र सार्वजनिक रुपमा जानकारीमा आएको हो।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ। उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।

प्रहरीले पनि उक्त घटनाबारे यकिन जानकारी नभएको जनाएको छ। प्रहरीलाई महाकालीमा तुइनबाट खसेर बेपत्ता भएको खबर बुझ्न फोन आउन थालेपछि अहिले सुन्सेरा प्रहरी चौकीबाट बेपत्ता बालकको घरमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर तुइन विस्थापित गरिसकेको घोषणा गरेपनि कतिपय पहाडी जिल्लामा ज्यान जोखिममा राख्दै तुइनको सहारामा नदी तर्नुपर्ने बाध्यता अझैं छ।

प्रतिक्रिया