२०८२ भदौ १८ गते बुधबार
ट्रेन्डिङ

६ घण्टासम्म मुखबाट श्वास दिएर नवजात शिशु बचाउने अनमि पुजारा 'उत्कृष्ट नर्स अवार्ड'बाट सम्मानित

SansherOnline सन्शेर अनलाइन
मङ्गलबार १७, भदौ २०८२ ०८:४०
६ घण्टासम्म मुखबाट श्वास दिएर नवजात शिशु बचाउने अनमि पुजारा 'उत्कृष्ट नर्स अवार्ड'बाट सम्मानित

बैतडी ।  बैतडीको सिगास गाउँपालिका–४ कान्धारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमि जानकी पुजारा 'उत्कृष्ट नर्स अवार्ड'बाट सम्मानित हुनुभएकाे छ ।

स्वास्थ्य खबरपत्रिकाको १६ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित १३ औं संस्करणको हेल्थ अवार्ड कार्यक्रममा उहाँलाई यो सम्मान प्रदान गरिएको हो ।

गएकाे साउन ८ मा पुजाराले उपकरण बिना नै लगातार ६ घण्टासम्म मुखबाट कृत्रित श्वास दिएर नवजात शिशुको ज्यान बचाउनुभएकाे थियाे । 

सिगास–४ की २० वर्षीया लक्ष्मी धामीबाट साउन ८ गते राति पहिलाे सन्तानकाे रूपमा निस्सासिएको अवस्थामा बच्चा जन्मियाे। उक्त स्वास्थ्य केन्द्रमा सास दिन मद्दत पुर्‍याउने एम्बुब्याग मात्रै थियो। त्यसले श्वास दिने प्रयास गर्दा मुखको साइज नमिलेर श्वास फोक्सोसम्म पुग्नै सकेको थिएन। अनमि पुजाराले निस्सासिएर बेहोस भएको शिशुलाई ६ घण्टासम्म मुखबाटै श्वास दिएर ज्यान जाेगाउनु भएकाे थियाे ।

May be an image of 2 people and text

उहाँकाे साहस र सेवाभावकाे कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो । सोमबार आयोजित कार्यक्रममा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्य खबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो ।

यस वर्षको उत्कृष्ट डाक्टरको अवार्ड कटारी अस्पतालमा कार्यरत चिकित्सक डा गौरव साह, उत्कृष्ट नर्सको रुपमा बैतडीकी अनमि पुजारा, उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा सर्लाहीको सोना महतो, उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा कालीकोटका जनस्वास्थ्य निरीक्षक विनोदकुमार न्यौपाने र उत्कृष्ट जनस्वास्थ्यकर्मीका रुपमा पर्वतका हरिप्रसाद भुसालले अवार्ड पाएका छन्।

उत्कृष्ट संस्थामा कोल्टी आधारभूत अस्पताल र आयुर्वेद तर्फ मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल, उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धकमा शिला श्रेष्ठ, उत्कृष्ट स्थानीय सरकारमा राप्ती गाउँपालिका र उत्कृष्ट अभियान्तामा उज्ज्वल विक्रम थापाले अवार्ड पाएका छन्।

यसका साथै अवार्ड कार्यक्रममा नेपालको स्वास्थ्य क्षेत्रमा २७ वर्षभन्दा लामो समयदेखि सहयोग गर्दै आइरहेका इन्टरप्लास्टका संस्थापक जर्मनीका हायन स्टल, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि विशेष सम्मान गरिएको थियाे ।

 

प्रतिक्रिया