कैलाली । कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ८० हजार जना आँखासम्बन्धीका बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् ।
गेटा आँखा अस्पताल र सोही अस्पतालअन्तर्गत रहेका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूबाट दुई लाख ८० हजार १५ जनाले आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीले ओपिडी सेवा लिएको गेटा आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिनुभयो । जसमध्ये २२ हजार २७३ जनाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।
आँखा अस्पतालले सुदूरपश्चिमका नौवटै जिल्लामा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो । त्यस क्रममा १८ वटा सर्जिकल क्याम्पहरू सञ्चालन गरिएकामा ओपिडी सेवा लिएका १० हजार ५७३ जनामध्ये दुई हजार ५२ जना आँखासम्बन्धी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो ।
त्यस्तै २१७ वटा ‘स्पोट स्क्रिनिङ क्याम्प’ गरेर २३ हजार ८६५ जनाको आँखा जाँच गरिएको थियो । जोशीले भन्नुभयो, 'तीमध्ये अस्पतालले मोतिया विन्दुलगायत अन्य भेटिएका बिरामीलाई गेटा आँखा अस्पतालमा ल्याएर शल्यक्रिया गरेका थियौँ ।'
गेटा आँखा अस्पतालले गत आवमा विद्यालय आँखा जाँच कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यस क्रममा ४०८ वटा विद्यालयमा गएर ८६ हजार ६४३ जना बालबालिकाको आँखा जाँच गरेको उहाँले जानकारी दिनुभयो । आँखा जाँच गर्दा केही बालबालिकाको दृष्टिमा समस्या देखिएकाे र एक हजार २८० जनालाई निःशुल्क चश्मा वितरण गरेको उहाँको भनाइ छ ।
अघिल्लो आव २०८०/८१ मा दुई लाख ७६ हजार ७५९ जना आँखासम्बन्धी बिरामीले अस्पतालबाट ओपिडी सेवा लिएको अस्पातलले जनाएको छ । अस्पतालमा आँखासम्बन्धी सम्पूर्ण उपचार निरन्तर प्रवाह भइरहेको छ ।
गेटा आँखा अस्पतालमा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । अस्पतालको उपचार सेवाप्रति विश्वास हुनुका साथै गुणस्तरीय सेवा प्रवाह भएकाले पनि लामो समयदेखि आँखा उपचारको लागि भारतीय मूलका नागरिक यहाँ आउने गरेका छन् ।
पछिल्लो समय भने भारतको पलियालगायत स्थानमा आँखासम्बन्धी अस्पताल खुलेपछि पहिलेको तुलनामा भारतीय बिरामीको चाप केही घटेको सूचना अधिकारी जोसीले बताउनुभयो । उहाँले भन्नुभयो, 'आँखासम्बन्धी ओपिडी सेवा लिने नेपालीभन्दा भारतीय बिरामीको सङ्ख्या कम भए पनि शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या भारतीय नै बढी हुने गरेका छन् ।'
प्रतिक्रिया