बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका राम सागर शाह आफैले आफूलाई सातौँ तहमा बढुवा गरेका छन् । शाहले सुदूरपश्चिम प्रदेश सरकारले हालै लागू गरेको स्थानीय सेवा ऐन, २०८१ को विवादास्पद दफा ९ को उपदफा ४ को व्याख्या गर्दै आफ्नै सिफारिसमा आफूलाई सातौँ तहमा पदोन्नति गरेका हुन् ।
शाह २०५३ साल साउन २४ गते स्वास्थ्य सहायक अहेव पदमा नियुक्त भएका थिए । हालसम्म उनी छैटौँ तहको सिअहेव पदमा कार्यरत थिए । तर स्थानीय सेवा ऐनको प्रावधान प्रयोग गर्दै उनले २०५३ साल साउन २४ गतेदेखि नै जनस्वास्थ्य अधिकृतको रूपमा जेष्ठता कायम हुने गरी बढुवा आदेश जारी गरेका छन् ।
ऐनको दफा ९(४) अनुसार कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघीय स्वास्थ्य सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो पाँचौँ र छैटौँ तहमा कार्यरत कर्मचारीको सेवा अवधि ऐन प्रारम्भ हुँदा पाँच वर्ष पूरा भएको भए एक पटकका लागि एक तह वृद्धि गरिनेछ ।
तर कर्मचारी आफैले आफ्नो सिफारिसमा आफूलाई नै बढुवा गर्नु र प्रचलित पदभन्दा माथिको तहमा उक्लिनुले कानुनी र नैतिक पक्षमा गम्भीर प्रश्न उठाएको छ ।
शाहले रेडियो सनशेरलाई दिएको प्रतिक्रिया अनुसार हतारमा निर्णय गरिएकोले गल्ती भयो नयाँ अधिकृत आएपछि आवश्यक निर्णय हुनेछ । उनले थपे यो नियतबस होइन प्रक्रिया नबुझेर भएको गल्ती मात्र हो ।
यो निर्णयको सार्वजनिक बहस चर्किएपछि उनी स्वयंले गल्ती भएको स्वीकार गर्दै आगामी प्रमुख प्रशासकीय अधिकृतको आगमनपछि बढुवाको निर्णय रद्द गर्ने तयारी गरिएको बुझिएको छ ।
प्रतिक्रिया