बैतडी : सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल सिगासधाममा केबुलकार स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सिगासधामलाई प्राथमिकतामा राखेर अध्ययन अगाडि बढाइने जानकारी दिएका हुन् ।
केबुलकार सम्भाव्यता अध्ययनका लागि बैतडीको सिगासधाम दार्चुलाको मालिकार्जुन शिखर, बाजुराको बडिमालिका, खप्तड क्षेत्र र अछामको रामारोशन सहित पाँच ठाउँका लागि ७ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सिगासधाम बैतडी जिल्लाको एक प्रमुख धार्मिक आस्थाको केन्द्र मानिन्छ। त्यहाँ वार्षिक रूपमा ठूलो संख्यामा भक्तजन तथा पर्यटक पुग्ने गर्दछन्।
केबुलकार जडान भएमा यहाँको पर्यटन प्रवर्द्धन यातायातको पहुँच, र स्थानीय आर्थिक विकासमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । सरकारले पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत उक्त परियोजना अघि बढाउने स्पष्ट पारेको छ। अध्ययनपछि प्राविधिक सम्भाव्यता देखिएमा निर्माण कार्य सुरु गरिने जनाइएको छ ।
प्रतिक्रिया