बैतडी : सिगास गाउँपालिकाको प्रमुख सडक मानिएको श्रीभावर दोगाड–गर्जे सडकलाई कालोपत्रे गर्ने कार्य छिट्टै सुरु हुने भएको छ । सो कार्यलाई अघि बढाउने विषयमा सिगास गाउँपालिकाकाे कार्यालयमा विश्व बैंक, पूर्वाधार विकास कार्यालय र डोलिडका प्रतिनिधिहरूसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष हरिसिंह धामीका अनुसार सडक कालोपत्रे प्रक्रिया तत्काल सुरु गर्नेबारे छलफल केन्द्रित रहेको र काम अघि बढाउनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । सडक कालोपत्रे गर्नका लागि डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) को निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अवस्थीले जानकारी दिए ।
नेपाल सरकार र विश्व बैंकबीच भएको सम्झौता अनुसार प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत सो सडकको स्तरोन्नति गरिनेछ । गत मंसिरमा संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र सिगास गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता भइसकेको थियाे ।
सडक निर्माणका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा १६ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको र सो बजेटको सिलिङ समेत प्राप्त भइसकेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए ।
स्थानीयवासीहरू यस सडकको विकासबाट निकै आशावादी छन् किनभने यो सडक सिगास क्षेत्रको आर्थिक सामाजिक र पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया