बैतडी : बैतडीको दशरथचन्द नगरपालिका २ स्थित देहीमाडौं खेलमैदानमा नेपाल अन्तर्राष्ट्रिय मेला तथा देहीमाडौं महोत्सव २०८२ हुने भएको छ । यही जेठ २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुतिसहित विविध व्यापारिक स्टलहरू रहनेछन् ।
दशरथचन्द नगरपालिकाको आयोजनामा हुने उक्त महोत्सवमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र एफपीसीसी आईको सहकार्य तथा ग्लोबल मिडिया ग्रुप प्रालिको व्यवस्थापन रहनेछ । नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टका अनुसार महोत्सवको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नेछन् भने विशेष अतिथिको रूपमा उत्तराखण्ड विधानसभा सदस्य बिशनसिंह चुफालको उपस्थिति रहनेछ । महोत्सवमा भारत र नेपालका गरी पाँच भन्दा बढी व्यापारिक स्टलहरू राखिनेछ ।
साथै सुदूरपश्चिम प्रदेशका उत्कृष्ट कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने छन् । आयोजकका अनुसार भारतको उत्तराखण्डबाट समेत कलाकारहरूको सहभागिता रहने पक्का भइसकेको छ ।
व्यवस्थापक हेमबाबु लेखकका अनुसार महोत्सव सुदूरपश्चिमको कला भेषभूषा र व्यापार प्रवर्द्धनमा एक ऐतिहासिक अवसर बन्नेछ । महोत्सवको मूल उद्देश्य स्वदेशी उद्योग तथा सेवाहरूको प्रवर्द्धन अन्तर्राष्ट्रिय बजार विस्तार वैदेशिक लगानी आकर्षण तथा प्रविधि हस्तान्तरणका लागि प्लेटफर्म तयार गर्नु हो ।
यसमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा प्रवेश निःशुल्क रहने छ ।
प्रतिक्रिया