बैतडी ः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैतडीमा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। जिल्लाका सबै ८४ वडामा वडा समिति गठन गर्ने लक्ष्यका साथ अभियान अघि बढाइएको र हालसम्म ५० वडामा नयाँ समिति गठन भइसकेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले जानकारी दिए।
राप्रपाका सम्पर्क समाज समन्वय विभाग सदस्य केशव चन्दका अनुसार पछिल्लो समय नागरिकबीच पार्टीको एजेण्डाप्रति आकर्षण बढेको छ। हिन्दू राज्य पुनःस्थापना र संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राप्रपाले नागरिकसँग प्रत्यक्ष संवादमार्फत आफ्नो धारणा राख्दै आएको छ।
पूर्वमन्त्री तथा नेता जयन्तबहादुर चन्दको उपस्थितिमा वडा समिति विस्तारको थालनी गरिएको थियो भने राप्रपाका युवा नेता एवं अभिनेता भुपेन चन्दको पनि सक्रिय सहभागिता देखिएको छ।
राप्रपाले वडास्तरमा संगठन विस्तारपछि पालिकास्तरीय समिति निर्माण गर्ने तयारी गरिरहेको छ।
स्थानीयस्तरमै सक्रियता बढाउँदै लगेको राप्रपाले बैतडीलाई संगठन विस्तारको उदाहरणीय मोडल बनाउने दाबी गरेको छ।
प्रतिक्रिया