बैतडी : बैतडीको सिगाश गाउँपालिका-९ स्थित कैलपाल आधारभूत विद्यालयमा आवश्यक पूर्वाधारको अभावमै सञ्चालन भइरहेको छ । विद्यार्थीहरू विभिन्न अभावका बीच अध्ययन गर्न बाध्य छन् । कक्षा १ देखि ५ सम्म पठनपाठन हुने विद्यालयमा शिक्षक ४ जना मात्र छन् ।
शिक्षकको संख्या अपुग हुँदा विद्यार्थीको सिकाइ प्रभावकारी हुन सकेको छैन । विद्यालयमा शिक्षकको संख्या कम हुँदा विद्यार्थीहरूको सिकाइ प्रक्रियामा असर पुगेको अभिभावकहरूको गुनासो छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलदेव भाटका अनुसार शिक्षक दरबन्दी कम भएकाले एक शिक्षकले नै धेरै कक्षाहरू सम्हाल्नु पर्ने स्थिति छ उहाले भनु भयाे । विद्यालयमा खानेपानीको पनि अभाव रहेको छ । धाराबाट पानी उपलब्ध नभएकाले विद्यार्थी तथा शिक्षकहरूलाई पिउने पानीको समस्या छ ।
विद्यालयमा शौचालय भए पनि सरसफाइको उचित व्यवस्था छैन। नियमित पानीको अभावले शौचालय प्रयोग गर्न समेत समस्या भइरहेको छ। २०५६ सालमा स्थापना भएको यो विद्यालयमा शिक्षण सिकाइ सहज बनाउने आधारभूत सुविधा नै अभाव छ । जसले विद्यार्थी तथा शिक्षकलाई कठिनाइ भोग्न बाध्य बनाएको छ ।
विद्यालयमा २०६५ सालमा बनेको एकमात्र भवन अहिले जीर्ण अवस्थामा पुगिसकेको छ। पुरानो र कमजोर संरचनाका कारण विद्यार्थीहरू असुरक्षित वातावरणमा पढ्न बाध्य छन् । साथै विद्यालयमा खेलमैदानसमेत छैन । जसले गर्दा विद्यार्थीहरूलाई प्रार्थना गर्नसमेत समस्या परेको छ भने खेलकुद गतिविधि सञ्चालन गर्न पनि कठिनाइ भोग्नुपरेको छ ।
स्थानिय तह तथा शिक्षा सम्बन्धित निकायले विद्यालयको अवस्थाप्रति ध्यान दिन आवश्यक देखिन्छ । अभिभावकहरू र स्थानिय बासिन्दाहरूले पनि विद्यालयको सुधारका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।
प्रतिक्रिया