बैतडी : बैतडीको ढोल्यामोड बजारमा सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा पुगेको छ। स्थानीय बासिन्दा तथा यात्रुहरूका लागि निर्माण गरिएको उक्त शौचालय पानीको अभावका कारण प्रयोग प्रयाेगविहीन बनेका हुन ।
पुर्चाैडी नगरपालिका र सुर्नया गाउँपालिकाले करिब ५ लाख रुपैयाँ लागतमा निर्माण गरिएका शौचालयहरू पानी अभावका कारण प्रयोगमा आउन नसकेका हुन । यात्रुहरूको सुविधाका लागि शौचालय निर्माण गरे पनि नियमित पानीको व्यवस्था नहुँदा यो प्रयोग गर्न सक्ने अवस्थामै छैन।
स्थानीयहरूका अनुसार पानीको उचित प्रबन्ध नहुँदा शौचालय फोहोर हुने र दुर्गन्ध फैलने समस्या देखिएको छ ।पानीको अभावले स्थानीय व्यापारीहरूलाई पनि असर परेको छ । होटल व्यवसायीहरू पानी अभावकै कारण दैनिक व्यवसाय सञ्चालन गर्न कठिनाइ झेलिरहेका छन् । ढोल्यामोडमा होटल सञ्चालन गरिरहेका हरक बहादुर बोहरा भन्छन् हामी १ जरकिन पानीका लागि सय रुपैयाँ तिर्न बाध्य छौँ ।सञ्चालन गर्नै सकस छ । उनका अनुसार खाना पकाउनेदेखि भाँडाकुँडा धुने र ग्राहकलाई सेवा दिनसमेत कठिनाइ भइरहेको छ ।
स्थानिय व्यापारीहरूले पानीको व्यवस्थाका लागि पहल गरेका थिए। व्यापारी सैलेन्द्र धानुकका अनुसार, स्थानीय व्यापारीहरूले २०,२० हजार रुपैयाँ संकलन गरेर पानीको व्यवस्था गर्ने प्रयास गरे पनि सफलता प्राप्त गर्न सकेनन् ।
ढोल्यामोड क्षेत्र यात्रुहरूको लागि महत्त्वपूर्ण बजार भए पनि आधारभूत सुविधाको अभावले समस्या थपिएको छ । स्थानीयहरू पानीको उचित व्यवस्थापनका लागि सरोकारवाला निकायसँग माग गरिरहेका छन् ।
यस विषयमा स्थानीय सरकार तथा सम्बन्धित निकायले चाँडै नै पहल नगरे यात्रुहरू स्थानीय व्यापारीहरू र बासिन्दाले थप सास्ती भोग्नुपर्ने देखिन्छ
सार्वजनिक संरचनाहरू निर्माण मात्र गरेर बेवास्ता गरिँदा यस्ता समस्याहरू दोहोरिरहने भएकाले स्थानीय तहले दीर्घकालीन समाधान खोज्नुपर्ने सरोकारवालाहरू बताउँछन्
प्रतिक्रिया