बैतडी : इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच गौराको अवसरमा बैतडीमा प्रर्दशन गर्ने गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका-४ देवलहाटस्थित गौराखलामा अठ्यावालीका दिन लाखे नाच प्रदर्शन गर्ने गरिएको स्थानीयहरुले बताए ।
स्थानीय भट्ट र मार्कण्ड परिवारका पाँच वा सात जनाले शरीरमा लुगा नलगाई रुखका पातहरुले शरीर ढाँकेर हातमा त्रिशुल लिइ लाखे नाच नाच्ने परम्परा रहेको छ । एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व लाखे नाच पनि भएको स्थानीय उद्धवसिंह मार्कण्डले बताए ।
उनले प्रत्येक वर्ष अठ्यावालीका दिन लाखे नाच प्रर्दशन गरिने देवलहाटको गौरामा यो बर्ष पनि लाखे नाच प्रदर्शन गरिएको बताए । सामाजिक एकता, मेलमिलाप र मनोरञ्जन दिनका लागि जिल्ला सदरमुकाम नजिकै रहेको देवलहाटमा हरेक बर्ष गौराष्टमी अर्थात अठ्यावालीका दिन लाखे नाच प्रर्दशन गर्ने परम्परा रही आएको छ ।
लाखे नाच बैतडीमा निकै लोकप्रिय भए पनि सरोकारवाला र स्थानीयको बेवास्ताले विस्तारै सङ्कटमा पर्न थालेको स्थानीय बासिन्दाको गुनासो छ । खासगरी युवापुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भए पनि मौलिक बन्न नसकेको गुनासो छ । निकै लोकप्रिय र भव्य स्थानीय पर्वका रूपमा रहेको लाखे नाच पछिल्लो समयमा स्थानीय युवापुस्ताको बेवास्ताले लोप हुन थालेको छ ।
पुरुषहरुले शिवजी जस्तै बनेर लाखे नाच प्रदर्शन गर्ने गरेको मार्कण्डले बताए । उनले भने ‘गौरामा लाखे नाच हुने यो क्षेत्रमा मात्रै हो । यसको प्रचारप्रसार गर्न सकेमा आन्तरिक पर्यटक भित्र्याउन सकिने देखिन्छ ।’
प्रतिक्रिया