२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

दार्चुलामा मतदान स्थल हेरफेर हुने

SansherOnline SansherOnline
शुक्रबार ०६, साउन २०७९ ०९:००
दार्चुलामा मतदान स्थल हेरफेर हुने

दार्चुला । दार्चुलामा मतदाताको सहजताका लागि मतदान स्थल हेरफेर हुने भएका छन्।भौगोलिक विकटताका कारण मतदाताहरूलाई मतदान गर्न असहज हुने गरेकाले पायक पर्ने ठाउँमा मतदान स्थल थप तथा हेरफेर गर्न लागिएको हो । बिहीवार बसेको जिल्ला मतदानस्थल र मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान स्थल पुनरावलोकनबारे सरोकारवालासँग छलफल गरेको छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीप धामीका अनुसार सम्बन्धित पालिकाका वडाका मतदाताको सहजताका लागि मतदानस्थल हेरफेर गर्न लागिएको छ । यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरिएको छ । 

निर्वाचन अधिकारी धामीले भने, ‘सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा अपायक परेका र भौगोलिक कठिनाइ रहेका मतदानस्थललाई कार्यदलले स्पष्ट किटान गरेपछि हेरफेर गर्नेछौ ।’ उनले आगामी निर्वाचनमा सबै मतदातालाई सहज र मतदान अधिकारबाट वञ्चित हुन नदिन पनि मतदानस्थल पुनरावलोकन गर्न लागिएको बताए । अपिहिमाल गाउँपालिकामा १ मतदानस्थल थपको माग गरिएको छ । अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ मा हिमालय आधारभूत विद्यालय पाथा र दुधिला आवि झुस्कु मतदानस्थल कायम गरिएको भएपनि मतदाताले घण्टौ हिडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता छ । ३ सय बढि मतदाताको सहजताका लागि त्यहाँ पर्ने सुर्मा भवानी आवि थुम्तीमा मतदानस्थल थप गर्नुपर्ने विषय छलफलमा उठेको छ । यस्तै लेकम गाउँपालिका–४ मा कायम गरिएको गल्लाकेदार मावि खरकडा स्थलबाट टुक्र्याई तमैराज आवि झलातीमा थप गर्न माग गरिएको छ । यस्तै वडा नम्बर १ को लटिनाथ मावि विथ्थडचौणमा पनि सम्भव भए थप गर्न भनिएको छ ।

जिल्लाको व्याँस गाउँपालिका–१ मा रहेको कैलासपति आधारभुत विद्यालय छाङ्गरुको भवन जीर्ण भएकाले त्यहाँ कायम गरिएको मतदान स्थललाई स्वास्थ्यचौकी भवनमा सार्न माग गरिएको छ । यस्तै दुहुँ गाउँपालिका–४ मा रहेको धारीपाटा मावि धारी मतदानस्थललाई यथावत राखी एउटा महादेव आवि फारामा थप गर्न सुझाइएको छ । यस्तै जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिका–३ मा रहेको स्वास्थ्य चौकी भवन बाँजको मतदानस्थललाई हुनैनाथ मावि बाँझमा सार्न माग गरिएको छ । स्वास्थ्य चौकी भवनमा कम्पाउण्ड नभएकाले सुरक्षालाई मध्यनजर गर्दै सार्न भनिएको हो । बैठकमा सुरक्षा समिति, राजनैतिक दल, स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो । भौगोलिक विकटता, सुरक्षा चुनौती, जीर्ण संरचनालाई मध्यनजर गर्दै सम्बन्धित स्थानीय तहको सिफारिस बमोजिम आगामी निर्वाचनका लागि मतदान स्थल हेरफेर गरिने जनाइएको छ ।

निर्वाचन आयोगले आगामी मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सिफारिस गरेको छ । सरकारले निर्वाचनको मिति भने तोकेको छैन् । दार्चुलामा २०७९ को स्थानीय निर्वाचनमा एक सय १० मतदान स्थल र एक सय ३९ मतदान केन्द्र कायम गरिएका थिए ।

प्रतिक्रिया