२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो

SansherOnline SansherOnline
शनिबार ०८, बैशाख २०८१ ०९:२२
नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो

काठमाण्डौ : एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले खराब प्रदर्शन गरेको छ । नेपाललाई चार विकेटले हराउँदै हङकङ एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलब तीन ओभरमा छ विकेट गुमाएर भेटायो । 

हङकङका लागि अशुंमान रथले अविजित ६५ रन बनाए । यस्तै बाबर हयातले २६ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।

यसअघि ओमानको अल अमिरात मैदानमो टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रन बनाए । यस्तै सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुल्सन झाले छ, आशिफ शेखले पाँच, करण केसीले तीन र ललित राजवंशीले दुई रन बनाए । हङकङका आयुष शुक्लाले तीन विकेट लिए ।

हिजो यूएईसँगको खेलमा पहिलो बलमै आउट भएका कुशल भुर्तेल आज पनि एक रन पनि नजोडी आउट भए । हिजो यूएईसँगको खेलमा पनि नेपालले खराब ब्याटिङ गर्दै जम्मा एक सय २० रनको लक्ष्य दिएको थियो र छ विकेटले पराजित भएको थियो ।

एशिया कपका लागि छनोट नभएको नेपालले आजको हारसँगै इमर्जिङ टिम्स एसिया कप पनि पनि गुमाएको छ । पहिलो, दोस्रो र तेस्रो हुने टोली मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले हङकङ छनोट भएको हो । घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै इमर्जिङ टिम्स एसिया कपमा पुगिसकेका छन् । 

प्रतिक्रिया