२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

सुदूरपश्चिममा समाजवादीको समर्थन फिर्ता

SansherOnline SansherOnline
मङ्गलबार ०४, बैशाख २०८१ ०४:३७
सुदूरपश्चिममा समाजवादीको समर्थन फिर्ता

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी) ले  मङ्गलबार फिर्ता लिएको छ । 

एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश प्रमुख नाजिर मियालाई भेटेर लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीको दाबेदारीमा समर्थन फिर्ता लिनुभएको हो । 

सङ्घीय सरकारको समीकरणअनुसार नै जाने गरेर प्रदेश सरकार बनाउन सोडारीले मुख्यमन्त्रीका दावेदारीका लागि दिएको समर्थन फिर्ता लिनुभएको हो । समर्थन फिर्ता लिएको कुरा प्रदेश प्रमुखको कार्यालयका निमित्तसचिव शैलेश ढुङ्गानाले बताउनुभयो ।

एकीकृत समाजवादीले मुख्यमन्त्री पदमा गरेको दाबीका लागि दिएको समर्थनले प्रदेश सरकार बनाउन आवश्यक प्रदेश सभा सदस्यको संख्या पुग्ने भएको थियो । तर सङ्घीय सत्ता समीकरणको दबाब खेप्न नसकेपछि सो दलले मुख्यमन्त्री पदमा दिएको समर्थन फिर्ता लिएको जनाएको छ । 

लक्ष्मणकिशोर नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी निकट हुनुहुन्छ । उन्मुक्तीका अध्यक्ष रञ्जिता श्रेष्ठले सोही पार्टीका कैलाश चौधरीलाई उम्मेदवारी दिन लगाउनुभएको छ । चौधरीलाई नेकपा (एमाले) को १०, नेकपा (माओवादी केन्द्र) को १०, स्वतन्त्र एक र उन्मुक्तिका दुई जनाको समर्थनमा मुख्यमन्त्रीका दावेदारीका लागि अगाडि सार्नुभएको थियो । 

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने अवस्था आएपछि चैत २२ गते पदबाट राजीनामा गर्नुभएको थियो । त्यसपछि प्रदेश प्रमुख मियाँले चैत २३ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी गर्न १० दिनको समयसीमा दिनुभएको थियो । वैशाख २ गते उन्मुक्तीका दुई जनाले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नु भएको थियो ।

अब लक्ष्मणकिशोर र कैलाश दुबै जनाले मुख्यमन्त्रीका दाबेदारीका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन पाउन नसक्ने भएपछि फेरि प्रदेश प्रमुख मियाले अर्को आह्वान गर्नुहुने बताइएको छ । 

उहाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी गर्न आह्वान गर्ने अनुमान गरिएको छ । अब नेकपा (एमाले) को १०, नेकपा (माओवादी केन्द्र) १०, स्वतन्त्रका एक र उन्मुक्तिका दुई र आफ्नो ४ सहित एकीकृत समाजवादीले नै मुख्यमन्त्रीमा दाबी गर्ने बुझिएको छ ।  

प्रतिक्रिया