बैतडी : बैतडीमा रहेको प्रसिद्ध धार्मीक स्थल निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरू भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चैतेदशैंको अवसर पारेर जात्रा शुरु भएको हो ।
चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा भोलि भव्य जात्रा लाग्ने मेला ब्याबथापन समितिका अध्यक्ष भान बहादुर बोहराले जानकारी दिए ।
यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन मदिरा बिक्री वितरण, सेवन र जुवातास खेल्न पुर्ण रुपमा रोक लगाएको छ। जुवा तास र मदिराका कारण मेलाको समयमा विभिन्न खालका घटनाहरु हुन सक्ने भन्दै मेला स्थल आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको मेला ब्याबथापन समितिका अध्यक्ष बोहराले बताए ।
कसैले मदिरा सेवन गरेको पाइएमा दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा ५ हजार जरिवानासहित मदिरा समेत जफत गरिने मेला ब्याबथापन समितिले जनाएको छ। यसका साथै जुवा खेले वा खेलाएमा ५ हजार रुपैयाँ र खुल्ला दिशा पिसाब पनि गरेको पाईएमा १०० रुपैयाँ जरिवाना गरिने बताइएको छ।
जात्रामा सुदूरपश्चिम प्रदेशका साथै भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।
प्रतिक्रिया