२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

पत्रकार कृष्ण विष्टले दुर्घटनाको समाचार लेखेर रेडियोमा पढे, दुर्घटनास्थल जाँदा आफ्नै बुवाको शव देखे

SansherOnline SansherOnline
शुक्रबार २३, चैत २०८० ०२:५६
पत्रकार कृष्ण विष्टले दुर्घटनाको समाचार लेखेर रेडियोमा पढे, दुर्घटनास्थल जाँदा आफ्नै बुवाको शव देखे

बैतडी : बैतडीमा से २ त ३६७८ नम्बरको टयाक्टर दुर्घटनामा पर्यो । राति ११ बजेतिर पाटन नगरपालिका– ८ झौलेक मोडमा उक्त दुर्घटना भएको थियो । दुर्घटना राति भएकाले बिहान मात्रै जानकारीमा आएको थियो ।

सोही जानकारी आएपछि पाटनको खोड्पेमा बसेर पत्रकारिता गरिरहेका कृष्ण विष्टले समाचार तयार पारे । उनले आफू कार्यरत विभिन्न मिडियामा उक्त समाचार पठाए । त्यस्तै खोड्पेमै आफू कार्यरत रेडियो सेभेन स्टारमा पनि उक्त समाचार पढे ।

उनले समाचार लेख्दासम्म दुर्घटनामा २ जनाको मृत्यु भएको भनेर प्रहरीले जानकारी दिएको थियो । मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र अर्का एक जना भनेर प्रहरीले जानकारी दिएको थियो ।

समाचार पढेपछि उनी थप रिपोर्टिङका लागि दुर्घटनास्थल पुगे । तर, त्यहाँ पुग्दा उनलाई गहिरो सद्मा लाग्यो । किनकी दुर्घटनाका अर्का मृतक उनकै बुवा थिए ।

उनका बुवा पाटन नगरपालिका १० पनालीका ५० वर्षीय मानबहादुर बिष्टको पनि दुर्घटनामा मृत्यु भएको भन्ने जानकारी उनले त्यहाँ पुगेर मात्रै पाएका थिए ।

उनका बुवा सुर्नया क्षेत्रमा काठको काम गर्थे । तर, राति घर फर्किरहेको भन्ने जानकारी उनले गराएका थिएनन् । सोही कारण कृष्णले दुर्घटनामा आफ्नै बुवा परेका होलान् भनेर साचेका पनि थिएनन् ।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया