२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

दलित, गैरदलित सबैको घरमा धार्मिक कार्यक्रम,कुरीति हटाउन दलित बस्तीमा ज्योतिष

SansherOnline SansherOnline
सोमबार १९, चैत २०८० ०५:४५
दलित, गैरदलित सबैको घरमा धार्मिक कार्यक्रम,कुरीति हटाउन दलित बस्तीमा ज्योतिष

बैतडी : धर्म, संस्कृति, परम्परा समयसापेक्ष परिवर्तन र अनुकूलन हुँदै जानु पर्छ भन्ने कुरामा धार्मिक गुरु नै अग्रसर हुन थालेका छन् । समुदायमा आएको सचेतना तथा सामाजिक परिवर्तनसँगै यहाँका धार्मिक अगुवा ज्योतिष पण्डित कुरीति हटाउन अघि सर्न थालेका छन् । यहाँका ज्योतिष पण्डित गणेशप्रसाद पन्तले दलित, गैरदलित सबैको घरमा धार्मिक कार्यक्रम गर्ने अभियान सुरु गर्नुभएको छ । 

पाटन नगरपालिका–८, खोड्पे निवासी ज्योतिष पण्डित पन्तले धार्मिक कुरीति हटाउन २१ वटा सप्ताह, ११ वटा शिवपुराण, ५१ वटा लघु रुद्राभिषेक गरिसकेको बताउनुभयो । बनारसीधामका धार्मिक प्रवक्ता एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वकेन्द्रीय सदस्य पन्तले दलित र गैरदलितबिचको विभेद हटाएर सबै हिन्दुको घरमा वेद, पुराण र गीता राख्नुपर्ने अभियानमा लागेको बताउनुभयो । 

उहाँले धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय, लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा एकजुट भएर लाग्नुपर्ने स्पष्ट पार्नुभयो । कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले पनि हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमका सबै जिल्लामा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारान, विवाह, व्रतबन्ध गर्दैनन् । त्यति मात्र होइन, चिहानघाटमा समेत जातीय विभेद हुने गरेकाले यस्ता कुरीति हटाउने अभियानमा म आफैँ लागेको हुँ । दलितको घरमा धार्मिक कार्य गर्दै आइरहेको छु ।”

पन्तले थप्दै भन्नुभयो, “सन्या पूजामा अथर्व वेदको उच्चारण गरेर यो दलितको वेद हो भन्दै भुइँमा पानी खसाल्ने गलत काम भइरहेको छ । अथर्व वेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनायो । हामी सबै त्यसको उपभोग गरिरहेका छौँ तर त्यही निर्माण गर्ने शिल्पकारमाथि विभेद गरिरहेका छौँ । यस्ता कुरीति हटाउनु पर्छ ।” नेपालका पूर्व क्षेत्रभन्दा पश्चिममा बढी धार्मिक कुरीति र अन्धविश्वास रहेकाले सबै खालका रूढीवादी परम्परा र धार्मिक कुरीति हटाउन धार्मिक अगुवा लाग्नुपर्ने उहाँले बताउनुभयो । 

अन्तर्राष्ट्रिय ब्राह्मण सङ्गठनका सदस्यसमेत रहनुभएका उहाँले विश्व शान्तिका लागि भारत, चीन, इन्डोनेसिया, दुबई, मलेसिया, श्रीलङ्कालगायतका देशको भ्रमणका क्रममा सबै खालका धार्मिक कुरीति हटाउने प्रवचन दिने गरेको स्मरण गराउनुभयो । धार्मिक कार्यक्रमसँगै रेडियो, टेलिभिजन र सामाजिक सञ्जालका माध्यमबाट समेत कुरीति हटाउनुपर्ने विषयमा ज्योतिष पन्तले प्रवचन दिँदै आउनुभएको छ ।   

प्रतिक्रिया