२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने उन्मुक्तिको निर्णय

SansherOnline SansherOnline
आइतबार ०४, चैत २०८० ०६:५०
सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने उन्मुक्तिको निर्णय

धनगढी : अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने वा निरन्तरता पाउने अनिश्चित रहेको बेला सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।  

नागरिक उन्मुक्ति पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकमा पूर्व राज्यमन्त्री कैलाश चौधरी र प्रदेशसभा सदस्य टीका थापा भने अनुपस्थित रहनू भएको थियो । नागरिक उन्मुक्ति पार्टीबाट ७ जना प्रदेश सभा सदस्य हुनुहुन्छ । 

प्रदेश सरकारको बहुमत पुग्ने अवस्था रहेका कारण यही सरकारलाई निरन्तरता दिने निर्णय गरेको सो पार्टीका संसदीय दलको नेता एवम् आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले बताउनुभयो । 

नागरिक उन्मुक्ति पार्टीको निर्णयले मुख्यमन्त्रीलाई राहत भएको बताइएको छ । अल्पमतमा रहनुभएका उहाँले नागरिक उन्मुक्तिको समर्थन कायमै राख्न नेपाली कांग्रेसभन्दा पनि बढी मन्त्री बनाउनु भएको छ । उन्मुक्तिको निर्णयले यही सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ । उन्मुक्तिबाट पाँचजना मन्त्री हुनुभएको छ । 

नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी सत्तापक्षसँग सदस्य सङ्ख्या २५ रहेको छ । स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी पनि स्थायित्वका लागि यही सरकारलाई समर्थन गर्नेमा सकारात्मक देखिनुभएको छ ।

राप्रपाले पनि यो सरकारलाई साथ दिने विश्वास गर्दै चौधरीले भन्नुभयो, “जहाँसम्म राप्रपा पनि यही सरकारको पक्षमा हुने मैले विश्वास गरेको छु । सरकारले बहुमत प्राप्त गर्नेछ ।” प्रदेशमा बहुमतको सरकार चलाउन २७ जनाको समर्थन आवश्यक पर्छ ।  

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिले केन्द्रमा बनेको नयाँ सत्ता समीकरणलाई समर्थन गरेको छ । सो पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केही दिनअघि प्रदेश सरकारबाट फिर्ता हुन आफ्नो पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दललाई निर्देशन दिनुभएको थियो । 

पार्टीको नीति र विधानविपरित प्रदेश दलले काम गरेको भन्दै उहाँले सरकारबाट फिर्ता नभए कारबाही गर्नेसमेत चेतावनी दिनुभएको थियो । प्रदेश सरकारमा रहने वा नरहने विषयले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरी र सो पार्टीका संरक्षक रेशमलाल चौधरीबिच मनमुटाव रहेको बताइन्छ ।  

प्रतिक्रिया