बैतडी : बैतडीको दुदिलाखान –गाँजरी र विन्द्रावन –वडा नं १ को कार्यालय जोड्ने सडक अवरुद्ध गरिएको छ । सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै संघर्ष समितिले सडक अवरुद्ध गरेको हो ।
सिगास गाउँपालिका वडा नं १ र २ का स्थानीयहरुले गाउँपालिकाको केन्द्र पुग्न पैदल हिड्नुपर्ने बाध्यता रहेको भन्दै सडक निर्माणका लागि दबाब दिन संघर्ष समिति गठन गरिएको थियो । यसअघि पौष १६ गतेदेखि २० गतेसम्म सडक अवरुद्ध गरेको संघर्ष समितिले सरोकारवाला निकायहरुसंगको छलफलपछि सडक खोलेको थियो ।
दुदिलाखान गाँजरी कुर्चेनेटा हुँदै पालिकाको केन्द्र गर्जे सडक निर्माणको बिषयमा सरोकारवाला निकायले कुनै ठोस कदम नचालेकाले सडक अवरुद्ध गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए ।
मंगलबार बिहान ७ बजेदेखि सडक अवरुद्ध गरिएको उनले बताए । सिगास गाउँपालिकाको केन्द्र गर्जे सम्म सडक निर्माणका लागि जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय र सुरक्षा निकायका प्रतिनिधिहरुले गत माघ १५ स्थलगत अवलोकन गरेका थिए ।
त्यसपछि सडक निर्माणका बिषयमा कुनै ठोस पहल नभएकाले फेरि सडक अवरुद्ध गरेर संघर्षमा उत्रिनुपरेको संयोजक चन्दले बताए । यता सिगास गाउँपालिकाको केन्द्र सम्म जोड्ने सडक निर्माणका बिषयमा प्राविधिक टोली बनाइएको र प्राविधिक टोलीको प्रतिवेदन आइनसकेको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियरको संयोजकत्वमा बनाइएको प्राविधिक टोलीले स्थलगत अध्ययनपछि प्रतिवेदन बुझाउने उनले बताए ।
प्रतिक्रिया