२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बलात्कार मुद्दामा सन्दीप लामिछाने दाेषी ठहर

SansherOnline SansherOnline
शुक्रबार १३, पुष २०८० ०७:५१
बलात्कार मुद्दामा सन्दीप लामिछाने दाेषी ठहर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछाने दाेषी ठहर भएका छन् । उनीमाथि लागेकाे बलात्कार सम्बन्धि आरोपमा उनी दाेषाी ठहर भएका हुन् ।  जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त फैसला सुनाएको हो । आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा उक्त मुद्दाको निरन्तर सुनुवाई हुँदै आएको थियो । 

कति वर्ष कैद सजाय भन्नेचाहीँ तोकिएको छैन । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले हाललाई सजाय नतोकिएको हो । पुस २५ गते अर्को सुनुवाईको मिति तोकिएको छ । उक्त सुनुवाई पनि न्यायाधीश ढकालकै इजलासमा हुनेछ । 

सन्दीपविरूद्ध २०७९ भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । सन्दीपले २०७९ भदौ ५ गते आफूलाई होटलमा लगेर जबरजस्ती करणी गरेको गौशाला २६ अर्थात पीडित किशोरीको आरोप थियाे । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्ने क्रममा वेस्ट इन्डिजमा थिए । 

उनीविरुद्ध बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेको विषय धेरै बेर छुप्न सकेन । केही समयमा नै उक्त आरोप देश विदेशमा फैलियो । जघन्य अपराधको आरोप लगाउँदै उजुरी दर्ता भएपछि  नेपाल क्रिकेट संघले क्यानले उनलाई निलम्बन गर्यो । 

उता वेस्ट इन्डिजमा रहेका सन्दीप स्वदेश फर्किएनन् । सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा २०७९ असोज १० गते इन्टरपोलले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गर्यो । डिफ्युजन नोटिस नोटिस जारी भएपछि मात्र २०७९ असोज २० गते नेपाल फर्किएका थिए । त्यसपछि प्रहरीले विमानस्थलबाट सन्दीपलाई पक्राउ गरेको थियो । 

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले २०७९ कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । उनी सुन्धारा कारगार चलान भए । 

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिए । उक्त उजुरीउपर सुनुवाई गर्दै उच्चले २०७९ पुस २८ गते उनलाई २० लाख धरौटीमा सशर्त रिहा गर्यो । उच्चले सन्दीपलाई विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे प्रहरीलाई खबर गर्नुपर्ने, पीडित भनिएकी कशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउने लगायत ५ सर्त राखेर सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेशसँगै आरोपित लामिछाने २० लाख रूपैयाँ धरौटी बुझाएर २०७९ पुष २९ गते रिहा भएका थिए ।

नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले २०७९ माघ १७ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गर्यो । त्यस्कै भोलिपल्ट अर्थात २०७९ माघ १८ गते नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । निलम्बन फुकुवामात्रै नभएर उनलाई नेपालभित्र खेल्न पाउने बोर्ड बैठकले निर्णय गरेको थियो । 

सोही बिचमा क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले पनि २०७९ फागुन १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । 

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाई गर्दै सर्वोच्चले २०७९ फागुन १५ गते उच्च अदालत पाटनको आदेशसमेत उल्ट्याएर सन्दीप राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो । साथै सोही दिन सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई फास्ट ट्रयाकमा राखि कन्टिनियस हियरिङ अर्थात निरन्तर सुनुवाइ गरी छिटो कारबाही किनारा गर्नू भनी निर्देशनात्मक आदेश दिएको थियो  । 

प्रतिक्रिया