२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

पुर्चौडीले शिक्षककोे तलब मासिक रुपमा दिने

SansherOnline SansherOnline
शुक्रबार ०६, पुष २०८० ०८:२४
पुर्चौडीले शिक्षककोे तलब मासिक रुपमा दिने

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलब मासिक रुपमा उपलव्ध गराउने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार कुंवरले प्रमुख प्रशासकिय अधिकृतको कार्यभार समाल्दै शुरुमा सो निर्णय गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत कुंवरले यो संगै थप महत्वपूर्ण पाँच निर्णय गरी कार्यभार समालेका छन् ।

अहिले सम्म नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब त्रैमासिक रुपमा उपलव्ध गराउँदै आएको थियो । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब आउँदो माघ महिनादेखी मासिक रुपमा उपलव्ध गराउने निर्णय गरेको छ ।

पुर्चौंडी नगरपालिका असोज २५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएपछि स्वास्थ्य शाखा प्रमुख कुंवरलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि बढीमा दुई महिना प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक कार्य गर्न हिजो अर्थात पुस ४ गते जिम्मेवारी दिएको थियो ।

जिम्मेवारी दिएको दोस्रो दिन अर्थात आज उनले समाजिक सुरक्षा भत्ता तथा उपचार खर्च सम्वन्धमा, विद्यालयका शिक्षक तथा कर्मचारीहरुको मासिक तलव भुक्तानी सम्बन्धमा, प्रशासनिक सुशासन तथा एकिकृत अनुगमन, नागरिक सहायता तथा सोधपुछ कक्ष स्थापना, थप कार्य जिम्मेवारी र अपांगता परिचय पत्र वितरण सम्बन्धका प्रस्तावमाथि छलफल गराई निर्णय गराएर कार्यभार समालेका छन् । वैठकमा कार्यालयका सबै शाखा प्रमुखहरु, कर्मचारी र नगरप्रमुख, उपप्रमुख उपस्थिति रहेको थियो ।

प्रतिक्रिया