बैतडी : कञ्चनपुरमा बसले ठक्कर दिँदा बैतडीकी भागरथी अवस्थीको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–९ गन्सुर घर भएकी ३९ बर्षीया अवस्थीलाई आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११कलुवापुरमा बसले ठक्कर दिएको थियो ।
केही दिन पहिलामात्रै भतिजीको बिहेमा सहभागी हुन आफ्ना श्रीमान शिवराज अवस्थीसहित भागरथी बैतडीबाट कञ्चनपुर गएकी थिइन् ।
आइतबार बैतडी आउने क्रममा उनका श्रीमान शिवराजले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । भागरथीको उपचारकै क्रममा धनगढीस्थित मायामेट्रो हस्पिटलमा मृत्यु भएको उनका आफन्त मुरलीधर अवस्थीले बताए ।
म १ख९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बसले ठक्कर दिएपछि मृतकका श्रीमान शिवराज अवस्थी र १३ बर्षीय छोरा बालकृष्ण अवस्थी घाइते भएका थिए । घाइते बुवाछोरा उपचारपछि डिस्चार्ज भइसकेका भएपनि भागरथीको भने मृत्यु भएको हो ।
सिगासस्थित लालीगुराँश बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक समेत रहेकी अवस्थीको निधनले गन्सुर गाउँ शोकमा डुबेको स्थानीय समेत रहेकी शिक्षिका लक्ष्मी शाह चन्दले बताइन् । सामाजिक कार्यमा सक्रिय भागरथीको निधनले गाउँ शोकमा डुबेको उनले बताइन् । उनले भनिन् ‘भागरथी अवस्थीको निधनले गाउँ शोकमा डुबेको छ । सिगासले एक होनहार महिला गुमाएको छ ।’
सिगास गाउँपालिका ९ स्थित उदयदेव मावि चुवा गन्सुरकी पूर्व विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष समेत रहेकी अवस्थीको निधनले शिक्षा क्षेत्रमा समेत ठूलो क्षति पुगेको उनका आफन्त मुरलीधर अवस्थीले बताए ।
मृतक अवस्थीका दुई छोरी र दुई छोरा रहेका छन् ।
घटनापछि बस र बसका चालक ३२ बर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया