२०८१ जेठ ०६ गते आइतबार
ट्रेन्डिङ

तिहारपछि बैतडीमा जात्राको रौनक,जिल्लामा चहलपहल बढ्यो

SansherOnline SansherOnline
मङ्गलबार ०५, मङि्सर २०८० ०२:३१
तिहारपछि  बैतडीमा जात्राको रौनक,जिल्लामा चहलपहल बढ्यो

बैतडी-गौरब चन्द : दसैं तिहार सकिएपछि सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक छाएको छ। कात्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा लगायतका जिल्लाका शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा लाग्ने गरेको छ। कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गरेको हो। 

कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहेको छ। बैतडीका त्रिपुरासुन्दरी, निङ्लाशैनी, तल्लादेही, मल्लादेही, उदयदेव, मेलौली, रौलाकेदार, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवणीधाम (राताशीला) लगायतका मन्दिरमा मेला लाग्ने गरेको छ। मेलाको लागि देशपरदेशमा रहेका स्थानीय गाउँ फर्कने गरेका छन्। 

 यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरमा पूजाआजा हुनाका साथै कार्तिक शुक्ल पक्षमा पनि धेरै जात्रा तथा मेला हुने गरेको छ । स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिए । जिल्लामा रहेका विभिन्न मन्दिरमा रात्रि जात्रा सुरु भएसँगै चहलपहल पनि बढेको छ ।

यहाँका जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । जात्रामा सहभागी हुनका लागि बसाइँसराइ गरेर गएकासमेत गाउँमा फर्किएकाले यहाँको चहलपहल बढेको दशरथचन्द नगरपालिकाका गणेश विष्टले बताए । उनले भने, “जात्रामा दर्शनका लागि टाढा रहेका पनि आउने गरेकाले भेटघाट हुनाका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने गर्दछ, गाउँबाट बसाइँ सरेका पनि गाउँ फर्कने भएकाले निकै चहलपहल बढेको छ ।” कार्तिक शुक्ल पक्षमा मन्दिर तथा शक्तिपीठमा लाग्ने जात्रालाई सामाजिक सम्बन्धको पर्वका रूपमा समेत लिइने गरिन्छ ।

प्रतिक्रिया