काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार राति गएकाे भूकम्पका कारण ठूलाे जनधनकाे क्षति भएकाे छ ।
रूकुम पश्चिम, जाजरकाेटलगायतका जिल्लामा बढी क्षति भएकाे विवरण प्राप्त भइरहेकाे छ । दुवै जिल्लामा राति २ बजेसम्म २० जनाकाे मृत्यु पुष्टि भएकाे छ ।
रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताउनुभयाे।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लामा १० जनाकाे मृत्यु भएकाे बताउनुभएकाे छ । कुशे गाउँपालिका ७ धर्नाशीमा सात जना र सदरमुकामस्थित भेरी नगरपालिका तीन मा तीन जनाको मृत्यु भएकाे छ । धेरै ठाउँमा क्षति भएकाले पूर्ण विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयाे ।
भेरी ३ मा डेरा गरेर बसेका नलगाड नगरपािलकाकी उपप्रमुख सरिता सिंह, स्थानीय इन्दिरा शाह र अर्की एक महिलाकाे मृत्यु भएकाे प्रजिअ सुनारले बताउनुभयाे। जाजरकाेट जिल्ला अस्पतालमा घाइतेहरूकाे भीड लागेकाे छ ।
मध्यराति भएकाले उद्धार र क्षतिको विवरण प्राप्त हुन कठिनाइ भइहरेकाे प्रहरी कार्यालयहरूकाे भनाइ छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडकाे भूकम्प गएकाे हाे ।
भूकम्पकाे धक्का काठमाडाैंदेखि भारतको दिल्लीसम्म महशुस गरिएकाे छ।
प्रतिक्रिया