२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडी सदरमुकामको सडक खाल्टाखुल्टी र साँघुरो स्तरोन्नतिमा चासो कसैको छैन

SansherOnline SansherOnline
बुधबार ०३, असोज २०८० ०६:५७
बैतडी सदरमुकामको सडक खाल्टाखुल्टी र साँघुरो स्तरोन्नतिमा चासो कसैको छैन

 बैतडी : बैतडीको सदरमुकाममा सडकको अवस्था दयनिय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारमा सडकको अवस्था नफेरिनु लज्जाको विषय बनेको हो । 

यो सडक थुप्रै सरकारी कार्यालयले प्रयोग गर्ने गरे पनि मर्मतमा भने कसैले चासो देखाएका छैनन ।सदरमुकाम जोड्ने सडकको शाहीलेक बजारदेखि गोठलापानी बजासम्म मर्मत सम्भार नहुँदा सर्वसाधारण र सवारीचालकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

जिल्ला सदरमुकामको सडकमा खाल्टैखाल्टा परेका छन् । सडक आफैमा साँघुरो छ, त्यसमाथि जिल्ला सदरमुकामको क्याम्पसदेखि गोठलापानी चौराहासम्म कयौँ ठाउँमा खाल्टैखाल्टा छन् । हल्का मात्र वर्षा भए पनि सडक सतह पूरै चिप्लो बन्ने गरेको छ, जसले गर्दा दुर्घटनाको जोखिम उच्च हुन पुग्छ । 

खाल्टाखुल्टीले यातायातका साधनलाई आवागमनमा सकस पारेको छ । सडक साँघुरो छ, त्यसमा पनि खाल्टाखुल्टी भएकाले दुर्घटनाको जोखिम बढिरहेको छ । सडकमा अधिकतम् भार भएका गाडीहरू  बढेपनि सडकको क्षमता नबढ्दा दुर्घटनाको जोखिम उच्च रहेको हो । 

सदरमुकाममा दिन-प्रतिदिन ठूला तथा साना गाडीसँगै मोटरसाइकलहरू थपिँदै गएका छन् । स्थानीय तह वा सडक डिभिजन कार्यालयले प्रभावकारी मापदण्ड नबनाउनु र नियमनमा पनि लापर्वाही रहेको स्थानीयको बुझाइ छ । 

आवश्यक समयमा मर्मतसम्भार गर्नेतर्फ वास्ता नहुँदा सडकको अवस्था जिर्ण र दयनीय बन्दै गएको छ । कुनै पनि निकायको गम्भीर रूपले ध्यान नदिँदा दिन-प्रतिदिन जोखिमपूर्ण बन्दै गइरहेको छ । स्थानीय सरोकारवाला निकायले उदासिनता दर्शाएको यस समस्या समाधानका लागि अब दृष्टि पुग्ने कहिले हो ?- स्थानीय जनता प्रतीक्षारत छन् ।

प्रतिक्रिया