बैतडी : संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरिएको हो । संविधान दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला सदरमुकाममा प्रभातफेरीको आयोजना गरिएको थियो ।
गढीस्थित शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गरिएको थियो । यस्तै संविधान दिवसको अवसरमा बैतडीको पाटन नगरपालिकाले खुल्ला मञ्च र मन्दिरमा सरसफाइ तथा वृक्षारोपण गरेको । पाटन नगरपालिका वडा नम्बर ६ स्थित खुल्ला मञ्च र राधाकृष्ण मन्दिरमा सरसफाइ गरेर वृक्षारोपण गरिएको हो ।
संविधान दिवसको अवसरमा पारेर बैतडी सदरमुकाममा आयोजना गरिएको खुल्ला डबल ब्याडमिन्टन प्रतियोगितामा बैतडीको दशरथचन्द नगरपालिकाका कैलाश थापा र आनन्द थापाको जोडी प्रथम भएको छ । नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्व्यमा असोज १ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । प्रतियोगितामा सन्तोष कनौजीया र लोकेश ठगुन्नाको जोडी दोश्रो भएको छ । यस्तै चन्द्रसिंह डोबाल र भवानी भट्ट तथा अंकित जोशी र हरिश भण्डारीको जोडी तेश्रो भएको छ ।
प्रतियोगितामा सीमावर्ती भारतीय क्षेत्र झुलाघाट र पिथौरागढका खेलाडीसहित बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका ३१ जोडीको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको प्रतियोगितामा समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । प्रतियोगिताको समापन सत्रमा जिल्ला न्यायधिश जयानन्द पनेरु र प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी बिशिष्ट अतिथी रहेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई अध्यक्ष, प्रमुख अतिथी र बिशिष्ट अतिथीले पुस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया