बैतडी : विश्व आत्महत्या रोकथाम दिवस २०२३ को अवसरमा आत्महत्याको अवस्था र रोकथामका उपायहरु विषयक जिल्ला स्तरीय अन्तक्रिया कार्यक्रम आज भदौ २४ गते जिल्ला प्रशासन कार्यालय बैतडीमा सम्पन्न भएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा आईतबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ आयोजना गरिएको आत्महत्याको अवस्था र रोकथामका उपायहरु विषयक अन्तक्रिया कार्यक्रममा आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्यसँगै समुदाय स्तरबाटै सचेतनात्मक कार्यक्रम र समाधानको पहल गर्नुपर्नेमा जोड दिइएको छ ।
अन्तक्र्रिया कार्यक्रममा समग्र मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका उपायहरुका बारेमा प्रस्तुतीकरण राख्दै जिल्ला अस्पतालका डाक्टर धिराज प्रसाद जायसवालले एक जनाको आत्महत्याले कम्तीमा १ सय ३५ जनालाई प्रत्यक्ष असर गर्ने गरेको बताउनुभयो । उहाँले आत्महत्याले प्रत्यक्ष अप्रत्यक्ष समाजमा गहिरो चोट पुग्ने हुँदा आत्महत्या न्यूनीकरणका लागि सम्बन्धित निकालयले सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक अवस्थाको अध्ययन गर्नुपर्ने बताउनुभयो । विश्वमा प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने र वार्षिक ८ लाखले आत्महत्या गर्दै आएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आत्महत्या न्यूनिकरण तथा रोकथामका लागि सन्देश दिन कार्यक्रम सफल रहेको बताउँदै यस्ता कार्यक्रम हामी सबैले राख्नु पर्छ त्यसका लागि विभिन्न निकायले कार्यक्रमलाई प्रथामिकतामा राख्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पन्थीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति बैतडीका उप प्रमुख दमन बहादुर कुँवर प्रमुख आथित्यता रहेका थिय । विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सरोकारवालहरूको सहभागी रहेको थियो
प्रतिक्रिया