२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस ,अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी

SansherOnline SansherOnline
शुक्रबार २२, भदौ २०८० १०:५५
५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस ,अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी

आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन दिवस मनाउने गरिन्छ ।

नेपालमा ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ नाराकासाथ दिवस मनाइँदैछ । सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानकाे शुरुवात गरेको थियो । त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।

मधेस प्रदेशका ८ जिल्ला धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी तथा कर्णाली प्रदेशका मुगु, जुम्ला, कालीकोट, हुम्ला र डोल्पा पूर्ण साक्षर जिल्ला घोषणा हुन सकेका छैनन् । अरु ६४ जिल्लालाई साक्षर घोषणा गरिएको छ । देशभर एक सय ६१ वटा पालिका साक्षर घोषणा हुन बाँकी छ ।

कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा गर्न सकिने संयुक्त राष्ट्र सङ्घको विश्वव्यापी अभ्यास छ । सरकारले आर्थिक वर्ष २०८०/८१ भित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव २ प्रतिशत छ । त्यस्तै १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ।

प्रतिक्रिया