बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले आज (आइतवार) एक सूचना जारी गरेर भोलि (सोमबार) बिहान ५ बजेदेखि देखि मंगलबार बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको छ ।
भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताउनुभयो । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन तथा सुरक्षित रहन आग्रह गरेको छ ।
सोमबार र मंगलबार दुई दिन बाँधको ढोका खोलिने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाकाली नदी किनारमा आवतजावत नगर्न समेत जारी सुचनामा उल्लेख छ। दार्चुलाको व्याँस गाउँपालिका –५ धौलाकोटदेखि बैतडीको पञ्चेश्वरसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया