२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

सुदूरपश्चिम विश्वविद्यालयको परिक्षा नियन्त्रक कार्यालयमा तोडफोड

SansherOnline SansherOnline
शुक्रबार १५, भदौ २०८० ०६:३१
सुदूरपश्चिम विश्वविद्यालयको परिक्षा नियन्त्रक कार्यालयमा तोडफोड

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयमा तोडफोड भएको छ । नेकपा समाजवादी निकट अनेरास्ववियूले आज विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेको हो ।  समाजवादी निकट विद्यार्थीहरुले परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका हुन् । 

विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीका सिधै १२–१५ जना नेता –कार्यकर्ताले कार्यालयमा तोडफोड गरेको बताए । सहायक परीक्षा नियन्त्रक सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका सिसा, टेबुल, कुर्सी, कागजपत्र भएको दराज तोडफोड भएको छ ।

समाजवादी निकट विद्यार्थी संगठनले भागबन्डा मागेकै कारण तालाबन्दी गरेको परीक्षा नियन्त्रक नाथले बताए । उनले भने, ‘हामीहरू उहाँहरूसँग ६–६ पटक वार्तामा बस्यौ । तर, भाग चाहियो भन्ने, अब हाम्रो स्तरबाट उहाँहरूलाई भाग दिन सक्ने कुरो भएन, भाग नै माग्ने भए कार्यकारीसँग माग्नुपर्यो ।’

उनीहरुले विश्वविद्यालयका विभिन्न आंगिक तथा विभागमा  समाजवादी निकटका प्राध्यापकलाई जिम्मेवारी दिनुपर्ने माग राख्दै आएका छन् । परीक्षा नियन्त्रकको कार्यकक्ष तोडफोड गरेपछि कार्यालयको कामकाज प्रभावित भएको छ ।

प्रतिक्रिया