बैतडी : कुनै समय बैतडी जिल्लाको ख्यातिप्राप्त केदारेश्वर माद्यमिक (कक्षा १ देखि १२) विद्यालय विगत केही वर्ष यता विद्यार्थी पाउनै मुस्किल हुने अवस्थामा पुगेको छ । कुनै समय एउटै कक्षामा सय जना सम्मका दुई देखि तीन सेक्सन संचालन गरेका पठनपाठन गरिरहेको केदारेश्वरले पछिल्ला दुई-चार वर्षयता पहिलेको एक कक्षा सम्म पनि विद्यार्थी जुटाउन सकिरहेको थिएन् ।
दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकाको मध्य विन्दुमा रहेको यस विद्यालयले उच्च शिक्षाका लागि पहल सुरु गरेको छ । दशरथचन्द नगरपालिकाको वडा नं. ७ र २, पाटन नगरपालिकाको वडा नं. ५ र मेलौली नगरपालिकाको वडा नं. २ र ३ का जनप्रतिनिधि, स्थानीय तथा अगुवाहरुले केदारेश्वर मावि विद्यालयमा क्याम्पस खोल्नुपर्ने संयुक्त निर्णय गरेका छन् ।
तस्बीर: क्याम्पस स्थापनाका लागि शनिबार आयोजना गरिएको भेला
शनिबार विद्यालयमा आयोजित भेलामा उपस्थित जनप्रतिनिधि, अभिभावक तथा स्थानीयले उक्त विद्यालयमा स्नातक तह सम्मको पठनपाठन गर्न क्याम्पसका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेका हुन् । शनिबार आयोजित भेलाले क्याम्पस स्थापनाका लागि तदर्थ समिति समेत गठन गरेको तदर्थ समिति सदस्य सचिव महादेब बडुले बताउनुभयो ।
मेलौली, दशरथचन्द र पाटन नगरपालिकाका विद्यार्थीहरुका लागि उच्च शिक्षा हाँसिल गर्न सहज होस भन्ने हेतुले क्याम्पस स्थापनाका लागि पहल शुरु गरिएको स्थानीय विवेकानन्द पाण्डेयले बताउनुभयो ।
शनिबार सम्पन्न भएको बैठकले क्याम्पस स्थापनाका लागि आ-आफ्ना क्षेत्रबाट सहयोग गर्ने निर्णय समेत गरेको छ । आजको बैठकमै क्याम्पस स्थापनाका लागि ७ लाख ५९ हजार चन्दा संकलन भएको छ । यही भदौ १४ गते सम्म दिइसक्ने गरेर स्थानीयहरुले चन्दा दिने प्रतिबद्धता जनाएको आर्थिक संकलन समितिका संयोजक समेत रहेका विवेकानन्द पाण्डेयले बताउनुभयो । क्याम्पस स्थापनाका लागि दशरथचन्द नगरपालिका वडा नं. ७ का जनप्रतिनिधिहरुले एक महिनाको भत्ता वाफत आउने सम्पुर्ण रकम चन्दा दिने र थप रकमका लागि समेत पहल गर्ने प्रतिवद्धता गरेको वडा अध्यक्ष हरीदत्त बडुले बताउनुभयो ।
तस्बीर: केदारेश्वर माद्यामिक विद्यालय दुर्गास्थान बैतडी
सुदूरपश्चिम विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गर्ने गरेर क्याम्पस स्थापनाको पहल गरिएको हो । दुर्गास्थानमा क्याम्पस स्थापनाका लागि भएको पहल निकै सकारात्मक रहेको स्थानीयको भनाई छ । दुर्गास्थानमा क्याम्पस स्थापना भएमा विभिन्न कारणले उच्च शिक्षा हासिल गर्नबाट वञ्चित विद्यार्थीहरुले शिक्षा ग्रहण गर्न पाउने छन् ।
प्रतिक्रिया