२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

आउँदो बिहीवार तेस्रो पटक धौलीगङ्गाको बाँध खोलिदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

SansherOnline SansherOnline
सोमबार २९, साउन २०८० ०५:०४
आउँदो बिहीवार तेस्रो पटक धौलीगङ्गाको बाँध खोलिदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बैतडी : भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका बिहीवार तेस्रो पटक खोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले आज सोमबार एक सूचना निकालेर आउँदो बिहीवार (साउन ३२ गते) बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको हो ।

भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शंकरबहादुर बोहराले जानकारी दिए । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै दशरथचन्द नगरपालिका ६ सेरादेखि पञ्चेश्वर सम्मका नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ । 

भारतले बर्खाको समयमा बेला बेला बाँधका ढोका खोल्दै आएको छ । भारतले गएको असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो । साउन ६ गते दोस्रो पटक खोलेको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो ।

यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर क्षति भएको थियो । पछिल्ला वर्षहरूमा भारतले परियोजनाका ढोका खोल्दा नेपालतिर पूर्वजानकारी दिने गरेको छ । 

 

प्रतिक्रिया