कैलाली : जोखिमकै बिच भीमदत्त राजमार्ग एक सातापछि खुलेको छ । कैलालीमा साउन २२ गते राती गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आइतबार (साउन २८ गते) साँझदेखि सञ्चालनमा आएको हो ।
गोदावरी नगरपालिका ४ को बुढीतोलामा गएको पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सडकमाथिबाट आएको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले बताउनुभयो ।
पहिरो पन्छाए पनि उक्त क्षेत्रमा हिलो र दलदल कायमै रहेका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको सुवेदीले बताउनुभयो।
तत्काल राजमार्ग सञ्चालनमा आए पनि जोखिम कायम हुँदा ढुक्क हुने अवस्था नरहेकाले जेसीबी, एक्साभेटर र लोडर तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।
राजमार्ग सञ्चालन भएसँगै एक हप्तादेखि तराईका जिल्लासँग विच्छेद भएको सुदूरपश्चिमका ६ पहाडी जिल्लाको सडक सम्पर्क जोडिएको छ ।
प्रतिक्रिया