बैतडी : बाल विवाह अन्त्यका लागि विश्वव्यापी कार्यक्रम अन्तर्गत बैतडीको सिगास गाउँपालिका र किशोर किशोरी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बालविवाहले पार्ने असरका बारेमा सुसुचित गराउँदै उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भीएसओ र पिसवीनको सहयोगमा जिल्लाका ७ वटा स्थानीय तह र किशोर किशोरी बिच अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको पीसवीनका परियोजना अधिकृत कृष्ण दत्त भट्टले जानकारी दिनुभयो ।अन्तरक्रिया कार्यक्रममा सिगास गाउँपालिका अध्यक्ष हरि सिहं धामी सभाध्यक्ष रहनुभएको थियो । साथै कार्यक्रममा पीसवीन परियोजना अधिकृत कृष्ण दत्त भट्ट, सिगास गाउँपालिका अन्तर्गत विभिन्न विषयगत शाखाका कर्मचारीहरु, रुपान्तरण कार्यक्रमका सहजकर्ता र रुपान्तरण कक्षामा सहभागी किशोरकिशोरीको उपस्थिति रहेको थियो ।
आज १ दिन भएको स्थानीय तह र किशोर किशोरी बिचको अन्तरक्रिया कार्यक्रममा बालविवाहले पार्ने असर, सामाजिक कुरिती, रुपान्तरण कक्षा सञ्चालन पश्चात किशोर किशोरीमा परेको सकारात्मक प्रभाव र सिकेका अन्य बिषयमा अन्तरक्रिया गरिएको छ ।रुपान्तरण कार्यक्रम सञ्चालन भएपछि हरेक किशोर किशोरीमा बालविवाहले पार्ने असरका बारेमा आफू मात्रै नभएर अभिभावकहरु पनि जागरुक हुन आवश्यक रहेकाले उनीहरुका लाइ थप जिम्मेवार बनाउन स्थानीय तह मार्फत रुपान्तरण कार्यक्रममा सहजता ल्याउन सहयोग स्वरुप अन्तरक्रिया गरिएको पीसवीनका परियोजना अधिकृत भट्टले बताए ।रुपान्तरण कार्यक्रमले लामो समयदेखि बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गर्दै आइरहेको पहिलाको तुलनामा बालविवाह घटेपनि भागी विवाह चुनौतीको रुपमा देखा परेको अन्तरक्रिया कार्यक्रममा सहभागी रुपान्तरण कार्यक्रमका सहजकर्ताको भनाइ छ ।
कार्यक्रममा बोल्दै सिगास गाउँपालिका अध्यक्ष हरि सिहं धामीले पछिल्लो समयमा पहिलेको तुलनामा बालविवाह घट्दो क्रममा रहेको बताएका छन् । बालविवाह अन्त्यका लागि गाउँपालिकाले महिला तथा बालबालिका शाखा सँग सहकार्य गरेर रुपान्तरण कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । बालविवाहले पार्ने असरका बारेमा अभिभावकहरु जानकार भएमा बालविवाह रोक्न सकिने भएकाले यो कार्यक्रम प्रभावकारी हुने पनि उहाँको भनाइ थियो ।
प्रतिक्रिया