बैतडी : बैतडीका किसान पछिल्लो समय बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरू आधुनिक बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।
परम्परागत शैलीमा बाख्रा पाल्दै आएका सिगास गाउँपालिका-९ चुवाका प्रकास चन्दले अहिले बाख्रा पाल्ने खोरको व्यापक सुधार गर्नुभएको छ । आधुनिक खोर बनाई बाख्रा पाल्दा राम्रो वृद्धि भएको चन्दले बताउनुभयो ।
उहाँले अहिले ४० वटा बाख्रा पाल्नुभएको छ । आधुनिक खोरमा बाख्रालाई घाँसपानी दिन सहज, घामपानीबाट ओतको राम्रो व्यवस्था र सरसफाइका लागि सजिलो हुने गरेको उहाँहरूको अनुभव छ ।
लगानी अनुसारको राम्रो आम्दानी हुने गरेको र दिनदिनै बढ्दै गएको मागले बाख्रापालनतर्फ आकर्षण बढेको सिगास गाउँपालिका-९ का किसान बलदेब महराले बताए। उनेल ४५ लाख लगानीमा व्यावसायिक बाख्रापालन गरेका छन्।
सामान्य रूपमा आठ दशवटा बाख्रा पालेर पनि घरको दैनिक खर्च चलाउन सजिलो हुने भएकाले पनि किसानको रोजाइमा बाख्रापालन पर्दै गएको र यसले बिस्तारै व्यावसायिक रुप लिन थालेको उनको भनाइ छ।
‘सबै गाउँलेले बाख्रापालन सुरू गरेका छन्, ‘चरनक्षेत्रको समस्या छैन, बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान सबैमा छ’ स्थानीय बाख्रापालक कृषकले भने। सिंगो गाउँ व्यावसायिक बाख्रापालनमा लागेको बताए।
प्रतिक्रिया