२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

मेलौली बस दुर्घटना– घाइते र प्रत्यक्षदर्शि भन्छन्, बस आकाशमा उडेको थियो

SansherOnline SansherOnline
बुधबार २७, असार २०८० १०:५९
मेलौली बस दुर्घटना– घाइते र प्रत्यक्षदर्शि भन्छन्, बस आकाशमा उडेको थियो

 बिन्दु चन्द- बैतडी : “बस अगाडीबाट हुत्तिएर आयो । हेलिकोप्टर जस्तै आकाशमा उडिरहेको थियो । माथीबाट उडेर आएको बस जोरले खेतमा पर्यो । बस भित्रका यात्रुहरुको चित्कार सुनियो, बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ स्वाखानीका प्रत्यक्षदर्शि केशवानन्द भट्टले भने ।’’

हामी नास्ता गर्न पसलमा बसेका थियौँ । माथीबाट एकदमै तिब्रगतिमा बस आयो । टाढाबाटै तिब्र गतिमा आइरहेको बस अलि वर पुगेपछि हेलिकोप्टर जस्तै आकाशमा उड्यो । दुर्घटना त धेरै देखिए तर यस्तो दुर्घटना मैले पहिलो पटक देखेँ । कल्पना गर्न सकिन्न त्यस्तो दुर्घटना भयो उनले भने ।’’

अगाडीबाट तिब्र गतिमा आइरहेको बस हुत्तिएर झरेको अर्का प्रत्यक्षदर्शि लक्ष्मण दत्त ओझाले बताए । 
के भन्छन् घाइते ?

सडकमा काम गर्न गएका सोही ठाउँका दिलिदप भट्ट पनि कामबाट घर फर्किँदा बसमा चढे । उनले बस खसेको केही ठाउँ अगाडी नै आफुलाई झार्न अनुरोध गरेका थिए । तर चालकले नरोकेको उनले बताए । दुई÷तीन पटक रोक्न भनेपनि चालकले रोक्न नसकेको उनले बताए ।

उनले भने, “बसको ब्रेकफेल अगाडी नै भएको रहेछ । बस हल्ली रहेको थियो । मैले यतै झारिदिनु भनेर दुई/तिन पटक भने तर चालकले रोक्नै सकेन । उतैबाट बस हल्लीदै हल्लीदै आयो, मोडमा पुगेपछि हुत्तिएर दुर्घटना हुन पुग्यो ।’’

बस तिब्र गतिमा चलेपछि भित्रका सबै यात्रुहरुले कराउन थालेको दिलिपले सुनाए । तीन पटक बसले पल्टि खाएको उनले बताए । दिलिपाई सामान्य चोट लागेको छ । उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् । 
बस दुर्घटना हुनुमा ठेकेदारको मुख्य भुमिका
 

सडक सहि भए चालकले बस आफ्नो नियन्त्रणमा लिन सक्ने अनुमान प्रत्यक्षदर्शिको छ । बस दुर्घटना हुनुमा ठेकेदारको मुख्य भुमिका रहेको प्रत्यक्षदर्शिहरुले बताएका छन् । 

ठेकेदारको लापरवाहिका कारण सर्वसाधारणले सास्ती खेप्नुपरिरहेको केशवानन्द भट्टले बताए । सडक निर्माण कार्यमा ढिलासुस्ती हुँदा सडकहरु खोला बनेको उनको गुनासो छ । 

भ्रष्टाचार गर्ने, ठेकापट्टा गर्ने तर काम नगर्ने प्रवृत्तिले सर्वसाधारणले सास्ती खेप्नु परेको उनको गुनासो छ । सर्वसाधारण जनतालाई डोकोमा हालेर भीरबाट फालेजस्तो गरेर मार्ने गरेको उनको आक्रोश छ । 

“मानव–अधिकारको प्रत्याभुति त जनताले पाउनु पर्छ, यसरी मार्नु त भएन्, अब उपरान्त यस्ता दुर्घटना हुनुहुँदैन्, यो सडक निर्माणको जिम्मा पाएको कुन व्यक्ति हो, के मापदण्ड हो ? स्थानीय सरकारले निर्माणको गति बढाउन जिम्मेवार व्यक्तिलाई दबाब दिनुपर्यो ।’’

सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनिहरुको लापरवाहीका कारण सर्वसाधारणले ज्यान गुमाउनु परेको गुनासो गरिएको छ । सडक निर्माणमा कमसल सामग्रि प्रयोग गरिएको गुनासो गरिएको छ ।

साँघुरा सडक त्यसमा पनि आधि सडकसम्म निर्माण सामग्रिहरु राखिँदा झन दुर्घटनाको जोखीम बढेको मेलौली नगरपालिका ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले बताए । 

उनले दुर्घटना हुनुमा मुख्य भुमिका ठेकेदारको रहेको बताए । सडकहरुमा गिट्टी लगायतका निमार्ण सामग्रिहरु थुपारेर राख्दा दुर्घटनाको जोखीम बढेको उनको भनाइ छ । 

उनले भने, “सडकका महत्वपुर्ण ठाउँ टर्निङहरुमा निर्माण सामग्रि थुपारेर राखेको छ । जसले सडकलाई साँघुरो बनाइदिएको छ । एउटा सडक गुड्दा एक पैदल यात्रुले बाटो क्रस गर्न सक्दैन भने अर्को सवारी साधनका लागि बाटो नै हुँदैन् । यसमा ठेकेदारको एकदमै ज्यादति हो ।’’

ठेकेदारलाई पटकपटक फोन सम्पर्क गर्दा पनि नटेरेको उनको भनाइ छ । सडकमा भएका निर्माण सामग्रिहरु हटाउन पटकपटक ताकेता गर्दा पनि नटेरेको उनले बताए । ठेकेदार काम अलपत्रै छोडेर बाहीर गएर बस्ने गरेको बताइएको छ ।

जनप्रतिनिधिहरुले पनि आफ्नो क्षेत्रभित्रका सडकहरुको निर्माणमा तिब्रता दिन ताकेता गर्दा पनि नटेर्ने गरेको बताएका छन् । ठेकेदारहरुले आफ्नो पेट पाल्ने परिवार पाल्ने उद्देश्यले निर्माणको जिम्मा लिने तर काम नगर्ने गरेको आरोप लागेको छ ।

जथाभावि निर्माण सामग्रि थुपार्दा बाटो क्रस गर्नै समस्या भएको गुनासो गरिएको छ । सडकमा कमसल सामग्रिहरु राखिएको बताइएको छ । तर मेलौली पञ्चेश्वर सडक निर्माणको जिम्मा पाएको केएस कन्सट्रकसनका प्रतिनिधि मानबहादुर पालले भने ग्रावेल गर्नका लागि सामग्रि सडक किनारामा राखिएको बताए । 

अप्ठ्यारो भएका सडकमा तुरुन्तै ग्राबेल गर्ने उनले बताए । वर्षातको समयमा काम गर्न असहज भएको भन्दै पालले मंसिर पौँषतिर कालोपत्रेको काम गर्ने बताएका छन् । 

तल्लो स्वराड क्षेत्रका कच्ची सडकको दुराअवस्था छ । नाली विनाका सडकहरु निर्माण गरिँदा वर्षातको समयमा सडक नै खोला जस्तै बन्ने गरेका छन् ।

वर्षातको समयमा सडकमा पानी जाम हुने खाल्टा–खुल्टि तथा सडकहरु भत्किंदा सवारी साधन चिप्लीने हिलोमा फस्ने तथा दुर्घटना हुने समस्या रहेको सवारी चालकहरुले बताएका छन् । तर सम्बन्धित क्षेत्रका स्थानीयतह भने मुकदर्शक बनेको गुनासो गरिएको छ । स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्माणमा तिब्रता दिन निर्माण कम्पनिहरुलाई दबाब दिन छोडेर मूकदर्शक भइरहने गुनासो गरिएको छ ।

सडकमा राखिएका निर्माण सामग्रि तुरुन्तै हटाउन निर्माण कम्पनिलाई आदेश दिएको मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्दले बताए । “वर्षातको समयमा आउने पहिरो, ढुगां गायत पञ्छाउने काम निर्माण कम्पनिले गर्नुपर्ने ठाउँमा उसले गर्छ, स्थानीयतहहरुले गर्ने ठाउँमा हामीले गछौँ । अहिले बर्षातको समय हुनाले कालोपत्रेको काम हिउँदमा हुन्छ, उनले भने ।’’

अहिले महेन्द्रनगर–कुलाउँ प्रत्यक्ष बस तथा गाडीहरु सञ्चालनमा छन् । पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत मेलौली काँडाबजारसम्म सडक कालोपत्रे गरिएको छ । तर मेलौलीदेखि कुलाउँसम्मको बाटो (सडक) भने कच्ची छ ।

जुन यी सडक ज्यानमारा बनिरहेका छन् । तल्लो स्वराड क्षेत्रका गाउँ–गाउँमा पुगेका सडकहरुलाई अविरल वर्षाले खोला बनाइदिएपछि आवतजावतमा समस्या भइरहेको हो ।
सवारी धनिहरुको पनि लापरवाही 
धन कमाउने मनसायले सवारी व्यवसायीहरुले पनि सिट क्षमता भन्दा बढी यात्रुहरु चढाउने गरेका छन् । ठाउँठाउँमा प्रहरी चेकपोष्टहरु छन तर चेकपोष्ट पुग्नुभन्दा केही अगाडी ओभर भएका यात्रुहरुलाई झारिन्छ ।

चेकपोष्ट कटिसकेपछि फेरी ती यात्रुहरुलाईै चढाइन्छ । सवारीको क्षमता भन्दा बढी लोड हुँदा सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् । सवारी चालक तथा साहुहरुले आफ्नो सवारी साधनको समसमै सर्भिसिङ नगर्दा पनि दुर्घटनाको जोखीम बढ्ने गरेको बताइएको छ ।

पैसा कमाउने लालचले कोचाकोच गरेर सवारी साधनमा यात्रुहरु भर्ने गरेको समेत यात्रुहरुहरुले गुनासो गर्ने गरेका छन् । सडकको दुराअवस्था संगै सिट क्षमता भन्दा बढी यात्रु चढाउनुले दुर्घटनाको जोखीम हुने गरेको छ । 

सोमबार दिउँसो १ बजे बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने मेलौली नगरपालिका वडा नम्बर ७ स्थित स्वाखानीमा बस दुर्घटनामा परेको हो ।

पञ्चेश्वर गाउंपालिका–३ कुलाउंबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस सोमबार दिउँसो १ बजे दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परि पञ्चेश्वर गाउँपालिका–६ का युवा उमेश भण्डारीको मृत्यु भएको हो । 

उनको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । ४६ जना सवार रहेको बस ४३.६ मिटर तल खसेको छ । 

प्रतिक्रिया