बैतडी : बैतडीमा आत्महत्याका घटनाले विकराल रुप लिएको छ । जिल्लामा आत्महत्याका घटनाको डरलाग्दो तथ्याङ्क पाइएको छ ।
विभिन्न कारणले नागरिकले आत्महत्या गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याकं हेर्दा जिल्लामा आत्महत्याका घटनामा बृद्धि भएको पाइएको हो । आत्महत्याका घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक प्रेम शाहिले बताए ।
समाजिक समस्या पारिवारीक झमेला तथा मनोबैज्ञानिक लगायत विभिन्न कारणले आत्महत्याका घटना बढेको उनको भनाइ छन् । श्रीमान–श्रीमतीबीच हुने झै–झगडाले पनि आत्महत्याका घटना हुने गरेको बताइएको छ ।
उनले भने, “पारिवारीक तनाव, श्रीमान–श्रीमतिबीचको विवाद, मनोसामाजीक लगायत विभिन्न कारणले आत्महत्या हुने गरेका छन् ।’’
पछिल्लो समय बढी जसो युवा पुस्ताहरु आत्महत्याका घटनामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।
मोवायलको गलत प्रयोग तथा सामाजिक सञ्जालको दुरुपयोगले पनि आत्महत्याका घटना बढेको बताइएको छ ।
प्रहरी नायव उपरिक्षक प्रेम शाहिले भने, “मोवायलको गलत प्रयोग, सामाजिक सञ्जालको दुरुपयोग तथा पारिवारीक कुराहरु चित्त नबुझे एकासी आवेगमा आएर आत्महत्या गर्नेहरुको ट्रेण्ड बढेको छ ।’’
प्रविधि युगमा युवाहरु बढी आत्महत्याका घटनामा संलग्न रहेको पाइएको शाहिको भनाइ छ । १४ वर्षमाथिका बालबालिका तथा युवाहरुमा आत्महत्या गर्ने गरेको उनले बताए ।
शाहिका अनुसार पछिल्लो ४ वर्षमा जिल्लामा १०९ जनाले झुण्डिएर र १९ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।
२०७६/७७ मा २७ जना, ७७/७८ मा ४१ जना, ७८/७९ मा ३६ जना र ७९/८० मा ३२ गरि ४ वर्षमा १२८ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्याका घटना कम गर्न अभिभावकले आफ्ना बालबालीकाहरुमा ध्यान दिनुपर्ने बताइएको छ ।
शाहिले भने, “अभिभावकहरुले आफ्ना बालबालिकाहरु के गर्दै छन्, कता जाँदैछन्, कसको संगतमा छन्, विद्यालय कुनबेला जान्छन्, कुन बेला घर फर्किन्छन् , यी सबै कुराहरुमा ध्यान दिन आवश्यक छ ।
मोवायल पनि आवश्यक्ता भन्दा बढी चलाउन नदिने गर्यो भने बच्चाहरुले गलत बाटो पनि समात्दैनन् । घर पनि विद्यालय नै हो पहिलो शिक्षा आमाबुवाबाट पाइने हुनाले बालबालीकाहरुमाथी अभिभावकले ध्यान दिन जरुरी देखिन्छ ।’’
उनले आत्महत्याका घटना न्युनिकरण गर्न सचेतना फैलाउनुपर्ने बताए ।
प्रतिक्रिया