२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

पञ्चेश्वर परियोजना अघि बढाउने तयारी

SansherOnline SansherOnline
सोमबार १८, असार २०८० ०८:३४
पञ्चेश्वर परियोजना अघि बढाउने तयारी

बैतडी : पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई तिव्रता दिने सहमति भएको छ। महाकाली सन्धिमा परिकल्पना गरिएको नेपाल र भारत सरकारका सम्बन्धित अधिकारीहरुले तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई छिट्टै अन्तिम रुप दिन यसअघि द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भइसकेको हो। 

बैठकमा भारतीय पक्षको नेतृत्व भारतको जलशक्ति मन्त्रालयका सचिव पंकज कुमार तथा नेपालको नेतृत्व ऊर्जा सचिव दिनेशकुमार घिमिरेले गर्ने तयारी रहेको भेटुवालको भनाइ छ । 

हरेक पटक प्रधानमन्त्रीको भारत भ्रमण हुँदा चर्चाको बिषय बन्ने पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब अगाडि बढ्ने आसा पलाएको छ । 

सन् १९५६ मै भारतीय पक्षले पञ्चेश्वरको बाँधस्थल पहिचान गरेको थियो । सुरुमा सन् १९७१ को आयोजना प्रतिवेदनमा १ हजार मेगावाट क्षमता रहने भनिएको थियो । सन् १९९१ मा यस आयोजनाको बाँध ३ सय १५ मिटरको बनाइँदा कुल उत्पादन ६४८० मेगावाट हुने देखिएको थियो ।

सन् १९९५ मा यस आयोजनाको नेपालतर्फबाट विस्तृत आयोजना प्रतिवेदन बने पनि हालसम्म आयोजना अघि बढ्न सकेको छैन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढेमा दुवै देशलाई फाइदा हुने बैतडीका स्थानीयहरुको भनाइ छ ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाएर यसलाई छिटो निर्माण गर्नुपर्ने स्थानीय समेत रहेका शिक्षक चन्द्रमोहन तिवारीले बताए । उनले भने ‘पञ्चेश्वर बहुउद्देश्यीय आयोजना दुवै देशका नागरिकको हितमा छ । यसलाई अघि बढाउने कुरामा अब ढिलो गर्नु हुँदैन् ।’

यसअघि गरिएको विस्तृत अध्ययनले यो आयोजना बन्दा २ हजार ९ सय २६ घरधुरीका २२ हजार ७ सय ६५ जनालाई पुनर्बासमा लैजानुपर्ने देखाएको थियो । पुनर्वासमा लैजानुपर्ने नागरिकसंग छलफल गरेर यो कामलाई अघि बढाउनुपर्ने शिक्षक तिवारीको भनाइ छ । 

प्रधानमन्त्रीको भारत भ्रमणको समयमा भएको सहमति अनुसार बैठक बस्न लागेको प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्णप्रसाद भट्टले बताए । दुवै देशका सम्बन्धित मन्त्रालयले काम अघि बढाउने सहमति भए अनुसार बैठकको मिति तय भएको उनको भनाइ छ । 

प्रतिक्रिया