२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

डेंगु नियन्त्रणका लागि समुदायस्तरसम्मै सरसफाईमा ध्यान दिनुपर्छ : सरोकारवाला

SansherOnline SansherOnline
शनिबार १६, असार २०८० १०:४१
डेंगु नियन्त्रणका लागि समुदायस्तरसम्मै सरसफाईमा ध्यान दिनुपर्छ : सरोकारवाला

बैतडी : वर्षात सुरु भएसंगै फैलिन सक्ने डेंगु नियन्त्रणका लागि समुदायस्तरसम्मै सरसफाईमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्ला सदरमुकाम बैतडीमा आयोजित डेंगु नियन्त्रण सम्बन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । 

विषेश गरी लाम्खुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नियन्त्रणका लागि लाम्खुट्टेलाई नियन्त्रण गर्ने उपायका बारेमा समेत कार्यक्रममा छलफल भएको थियो । घर वरीपरी पानी जम्ने खाल्डा–खुल्डी, भाडा तथा अन्य ठाउँमा पानी जम्न नदिने हो भने लाम्खुट्टेको टोकाइबाट बच्न सकिने स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले बताउनुभयो । उहाँका अनुसार सानो भाडामा जम्मा भएको सफा पानीमा समेत डेंगु सार्ने लाम्खुट्टेले फूल पार्ने भएकाले उक्त कुरामा विषेश ध्यान दिनुपर्ने छ ।

डेंगु नियन्त्रणको लागि आमजनमानसमा यो सरसफाईका विषयमा जनचेतना अत्यावश्यक रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘खेत, बारी, गमला, टायर आदिमा जम्मा भएको पानीमा डेंगुको लार्भा हुने भएकाले त्यसतर्फ ध्यान दिन आवश्यक छ ।’ 

डेंगुले लार्भा पार्ने ठाउँहरुको खोजि गरि डेंगुको लार्भालाई खोजेर नष्ट नगरेसम्म यो समस्यालाई समाधान गर्न नसकिने उहाँको भनाई थियो ।

डेंगु नियन्त्रणको लागि आफ्नो घर सफा गरेर मात्र नहुने, छिमेकीको घर समेत सफा हुनु पर्ने र गर्न लगाउने कुरामा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको भनाई थियो ।  घर वरीपरी भएका पानीजम्ने सबै ठाउँको पहिचान गरि पानी जम्न नदिनका लागि सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम मार्फत पनि सचेतनामुलक कार्यक्रम गर्न सकिने उहाँको भनाई थियो । उहाँले भन्नुभयो ‘विषेश गरी विद्यालय, र प्रहरी र स्वास्थ्यकर्मिलाई परिचालन गरेर पनि यसको नियन्त्रण गर्न सकिन्छ ।’ उहाँका अनुसार कार्यालयले पनि हप्ताको एक दिन आफ्नो कार्यालय वरीपरी सरसफाई गुर्नपर्छ । 

डेंगु लागेपछि कुनै खास विषेश उपचार नभएको बताउदै जिल्ला अस्पताल, बैतडीका डाक्टर धिरज जैसवालले यसबाट बच्ने उपाय अबलम्बन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘पुरा बाउला भएको कपडा लगाउनुका साथै लामखुट्टेको टोकाईबाट बच्नुनै डेंगुबाट बच्नु हो ।’ 

प्रतिक्रिया