२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

SansherOnline SansherOnline
शनिबार १६, असार २०८० ०३:१०
बैतडीका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

बैतडी: लगातारको वर्र्षाले बैतडीका आधा दर्जन ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाले जिल्लाका ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको हो । ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । जिल्लाका सबैजसो ग्रामीण कच्ची सडक अवरुद्ध भएका छन् ।    

लगातारको बर्षाका कारण सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएको छ भने चौखामदेखिको सडक पनि अवरुद्ध भएको स्थानीयवासीले बताए । 

त्यस्तै जिल्लाको श्रीभावर –हाट सडकमा पनि सवारी साधन सञ्चालनमा निकै जोखिम रहेको स्थानीयहरुले बताएका छन् । श्रीभावर–हाट सडकलाई समयमै स्तरोन्नती नगर्दा समस्या भएको स्थानीय पुरनसिंह ऐरले बताए । बर्षातको समयमा सवारी साधन सञ्चालनमा निकै समस्या हुने गरेको उनले बताए । सडकका ठाउँठाउँमा पहिरो खसेपछि सडक सञ्चालनमा समस्या भएको उनले बताए । 

त्यसैगरी सतबाँझ –सुर्नया सडकमा सवारी साधन सञ्चालनमा कठीनाइ आएको बस चालक सुरेश बिष्टले बताए । धर्मघर–सनशेरीमाण्डौं सडक पनि बर्षातका कारण अवरुद्ध भएको स्थानीय केशव भट्टले जानकारी दिए । 

यस्तै पाटन–सकार–कैलपाल सडक पनि बर्षातका कारण अवरुद्ध भएको पाटन नगरपालिका स्थानीय लछीराम लुहारले बताए । देहीमाण्डौं–सलेना, मुस्याचोर–वसन्तपुर, गुरुखोला–कलौन लगायतका ग्रामीण सडकहरु अवरुद्ध भएका स्थानीयहरुले बताएका छन् । 

वर्षा लागेपछि बर्सेनि यहाँका ग्रामीण क्षेत्रका अधिकांश सडकमा सवारी साधन सञ्चालन गर्न कठिनाइ हुने भए पनि त्यसको समस्या समाधानका लागि कसैले पनि ठोस कदम नचालेको  सिगास गाउँपालिका स्थानीयवासी सूर्यबहादुर बाेहराले आरोप लगाए ।

प्रतिक्रिया