२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार

SansherOnline SansherOnline
शुक्रबार १५, असार २०८० ०६:४५
कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार

काठमाण्डौ  : कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । आज शुक्रवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।

२०७९ साल मङ्सिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले हिजो बिहीवार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । त्यसमाथि आज मत विभाजन भएको हो । उनको प्रस्ताव अस्वीकृत भएको सभामुख बाबुराम गौतमले प्रदेश सभामा घोषणा गरे ।

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत परेको छ । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कार्कीलाई नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छ जना सांसदले मत दिए । मतदानमा ८९ सांसद सहभागी भएकामा प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले विपक्षमा मतदान गरे । प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

केन्द्रमा गठबन्धन फेरबदल भएसँग त्यसको असर प्रदेशमा पनि परेको हो । यसअघि पाँच वटा प्रदेश सरकार फेरबदल भएका थिए । कोशीमा पनि माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मतको प्रस्ताव राखेका हुन् । उनले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकारले ढलेको छ । मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै कोशी प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ ।

प्रतिक्रिया