२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

SansherOnline SansherOnline
शुक्रबार १५, असार २०८० ०८:१९
आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

काठमाण्डौ : आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यसवर्षको धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ । 

जलवायु परिवर्तनको कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्ने, जलवायु अनुकूलका प्रविधि प्रयोगमा जोड दिने यसवर्षको नाराको मुख्य उद्देश्य छ ।  

२०६१ साल मङ्सिर २९ गते सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान उत्पादन हुँदै आएको छ । यसवर्ष १४ लाख ९६ हजार हेक्टर जमिनमा रोपाइँ हुने प्रक्षेपण छ ।

गएको बुधवारसम्म १ लाख ६६ हजार ६ सय हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ । अहिले किसानलाई प्रमुख बाली धान रोपाइँको चटारो छ । उत्पादन बढाउने सरकारको उद्देश्य भए पनि मनसुन फेरबदल, समयमै बीउ, मलखाद नपाउने, सिँचाइको अभावलगायतका समस्या यथावत् छन् ।

सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशेको पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । जनशक्तिको अभाव र लागत महँगो हुँदा पनि किसान समस्यामा छन् । 

साथै असार १५ का दिन आज दहीचिउरा समेत खाएर रमाइलो गर्ने चलन छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाने गर्छन् ।

प्रतिक्रिया