२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बाजुरामा हाकिमलाई गोलि हान्ने धम्की, वडाध्यक्ष भन्छन् बुझाइमा फरक

SansherOnline SansherOnline
बिहिबार १४, असार २०८० ०३:४८
बाजुरामा हाकिमलाई गोलि हान्ने धम्की, वडाध्यक्ष भन्छन् बुझाइमा फरक

बाजुरा: बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बडीमालिका-६ का वडा अध्यक्ष कृष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै उनले सुरक्षाको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

विकले वडाध्यक्ष खड्काले भुक्तानी माग गर्दा आफूले प्रक्रियामा नआएका योजनाको भुक्तानी दिन समस्या हुने भनेपछि उनले नगरप्रमुख अमर खड्काको कार्यकक्षमा गोली हानेर मार्छु भनी धम्की दिएको बताए । उनले दुईपटक आफूमाथि आक्रमणको प्रयास भएको र यही २० गतेसम्म भुक्तानी नदिए मार्ने समेत धम्की दिएको बताए ।

यता, वडाध्यक्ष खड्काले भने आफूले ज्यान मार्ने धम्की नदिएको बताउँदै बुझाइमा फरक परेको बताए । ‘बुझाइ गलत भयो, मैले उहाँलाई भुक्तानीका लागि यस्तै गर्नुहुन्छ भने कि तपाईँ रहनुहुन्न कि म रहन्न भनेको हुँ । यसको मतलब मार्छुँ भनेको होइन, उहाँ भुक्तानीका लागि यस्तै गर्दै आउनुभएको छ, मैले उहाँलाई अझै पनि यस्तै गर्नुहुन्छ भने कि तपाईँ कार्यकारी रहनुहुन्न कि म वडाध्यक्ष रहन्न, राजीनामा दिन्छुँ भनेको हुँ,’ उनले भने ।

वडाध्यक्ष खड्काका अनुसार चुनावका बेला वडा नम्बर १, ३, ४, ५ र ६ मा संयुक्त रुपमा सडकको ट्र्याक खोलिएको थियो । जसमध्ये ५ र ६ नम्बर वडाको मात्रै भुक्तानी हुन बाँकी छ । अन्य वडाको भुक्तानी भइसकेको छ । सोही भुक्तानीका लागि आफूले पटक-पटक भनिरहँदा पनि अझै दिन नमानेको उनको भनाइ छ । यति भइरहँदा नगरप्रमुख र नगर प्रवक्ता पनि सँगै रहेका उनी बताउँछन् ।

प्रतिक्रिया