२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरा सदरमुकामको सडक बिस्तार: मुआब्जाको प्रक्रिया रोक्न सर्वोच्चको आदेश

SansherOnline SansherOnline
बिहिबार १४, असार २०८० १२:२२
डडेल्धुरा सदरमुकामको सडक बिस्तार: मुआब्जाको प्रक्रिया रोक्न सर्वोच्चको आदेश

 

डडेल्धुरा : डडेल्धुरा सदरमुकामको सडक विस्तार गर्न मुआब्जा वितरणको प्रक्रिया रोकिएको छ । तत्काल मुआब्जा वितरणको प्रक्रियारोक्न सर्वोच्च अदालतले आदेश जारी गरेको हो । 

अधिवक्ता टीकाराम भट्टराई र श्वेता तिवारीको बहसपछि सोमवार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दोस्रो चरणको मुआब्जा वितरणको प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश दिएको छ ।

दोस्रो चरणको मुआब्जा वितरणका लागि सडक नाप्दा आफूहरुलाई अन्याय भएको भन्दै तुफानडाँडा–कीर्तिपुरवासीले निवेदन दिएका थिए । उनीहरुले नक्सा अनुसारको सडकबाट नभई हाल कायम रहेको सडकबाट नापी गर्दा आफूहरुको घरजग्गा मासिने भन्दै अदालतमा नेपाल सरकारलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई यहि असार २५ गते पेशीमा उपस्थित हुन समेत आदेश दिएको छ । साथै दुवै पक्षबीचको छलफल अन्तिम टुंगोमा नपुगेसम्म जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार मुआब्जाको कार्य सम्बधी प्रक्रिया रोक्न अदालतले आदेश दिएको छ ।

डडेल्धुरा बागबजार–किर्तीपुर सडकखण्ड अन्तर्गत पहिलो चरणमा बागबजार क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण गरिसकिएको छ । अब रानीधारा, तुफानडाँडा, किर्तीपुर लगायतका क्षेत्रमा परेका घर तथा जग्गाको मुआब्जा वितरण गर्ने तयारी रहेको थियो । 

दोस्रो चरणमा मुआब्जा वितरण गर्न संघीय सरकारले ३० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मुआब्जा दाबी गर्न जग्गा र घरधनीका लागि सूचना जारी गरेको थियो । 

मुआब्जा दाबी गर्नका लागि २ सय ९२ जनाको नाममा १५ दिने सूचना जारी भएको थियो । यसअघि बागबजार क्षेत्रका जग्गा र घर धनीलाई २० करोड मुआब्जा वितरण गरिएको छ ।

 

प्रतिक्रिया