२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

ललिता निवास प्रकरणमा हदम्याद लाग्‍दैन : सिआइबी

SansherOnline SansherOnline
बुधबार १३, असार २०८० ०३:३१
ललिता निवास प्रकरणमा हदम्याद लाग्‍दैन : सिआइबी

काठमाडौं: बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ।

बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पत्रकार सम्मेलन गरी नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अवस्थाको कानुनका आधारमा मुद्दा दायर हुने बताएको हो। पुरानो कानूनअनुसार मुद्दा चलाउँदा हदम्याद नलाग्ने प्रावधान रहेको प्रहरीको भनाइ छ। सीआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित किर्तेमा हदम्यादको व्यवस्था नभएकाले ललिता निवास प्रकरणमा हदम्याद लागू नहुने बताइन्।

उनले यो प्रकरण नयाँ मुलुकी ऐन आउनुभन्दा अघिको भएकाले अहिलेको कानुन आकर्षित नहुने बताउँदै मुद्दा दर्ता नहुने भन्ने प्रश्न नै नआउने बताइन्। उनले यस प्रकरणमा केही चलखेल हुनसक्ने भएकाले प्रहरीसँग जवाफ दिनका लागि यथेष्ठ प्रमाण रहेको जानकारी दिइन्।

उनले भनिन्, ‘यो मुद्दा दर्ता नगर्ने प्रश्न नै आउँदैन, हामीले धेरै नै मेहनत गरेर प्रमाण जुटाएका छौँ। मुद्दा दर्ता हुन्छ, अघि बढ्छ, हद म्यादमा पनि दुविधा हुनेछैन, यस्तोमा सानो चलखेल रहन्छ नै उनीहरूलाई जवाफ दिने यथेष्ठ प्रमाण छन्।’

पत्रकार सम्मेलनमा सिआईबीका एसएसपी दिनेश आचार्यले २०४७ पछिका चरण चरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको बताए। उनले राणालाई फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको बताए।

उनले ललिता निवास जग्गा प्रकरणमा मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधिर शाह पक्राउ परेको भन्दै अनुसन्धान जारी रहेको जानकारी दिए।

उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा मंगलवार हामीले ४ जनलाई पक्राउ गरेका छौँ। उनीहरूलाई थप अनुसन्धान र कारबाही अघि बढाएका छौँ। पक्राउ पर्नेमा मिनबहादुर गुरुङ,धर्मप्रसाद गौतम, गोपाल कार्की, सुधीर शाह गरी ४ जना व्यक्तिलाई नियन्त्रणमा राखेर कारबाही प्रक्रिया अघि बढाएका छौँ। सरकारी जमिन जसरी किर्ते भएको छ यसमा असिमित हदम्याद हुने व्यवस्था छ। त्यसैअनुसार हामी अघि बढेका छौँ।

सरकारी जमिन धेरै हिनामिना भएको अवस्था छ, हामीसँग २०२० को असीमित हदम्यादको व्यवस्था छ। मिनबहादुर गुरुङको नाममा २९ रोपनी भन्दा बढी जग्गा उहाँ लगायत उहाँको परिवारका नाममा देखिन्छ।’ ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दा विचाराधीन छ।

प्रतिक्रिया