काठमाडौं : नेपाली कांग्रेसले अनलाइनबाटै पार्टीको साधारण सदस्यता लिन सकिने व्यवस्था सुरू गरेको छ।
महामन्त्री गगन थापाको संयोजकत्वमा मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको सदस्यता व्यवस्थापन समिति बैठकले २० रुपैयाँ बुझाएर अनलाइनबाटै सदस्यता प्रदान गर्ने व्यवस्थाको सुरूवात गरेको हो।
सदस्यता लिन चाहनेले वेबसाइटमा गएर आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्ने व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए।
सदस्यता फारम भरेपछि सोको जानकारी मोबाइलमा म्यासेजमार्फत आउने पनि उनले बताए । आवेदन पार्टी केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ।
क्रियाशील सदस्यता नवीकरण अब जिल्ला कार्यालयले नै गर्ने निर्णय भएको छ। कांग्रेसले क्रियाशील सदस्यता पनि खुला गरिसकेको जनाएको छ। केही समयपछि क्रियाशील नवीकरण आवेदन पनि पार्टीको वेबसाइटबाटै अनलाइनमै भर्न सकिने व्यवस्था मिलाइने पराजुलीले बताए।
प्रतिक्रिया