दार्चुला : यो वर्ष दार्चुलामा सबैभन्दा बढी डेंंगु संक्रमित फेला परेका छन्। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले ६ महिनाको अवधिमा डेंगुका ९ सय ३ केस देखिएको जनाएको छ।
ईडिसिडीका अनुसार जनवरीदेखि हालसम्म ४७ वटा जिल्लामा डेंगुका केसहरु पाइएका हुन्। तीमध्ये धेरै केस दार्चुलामा देखिएको हो। त्यहाँ डेंगुका १ सय ८७ केसहरु पाइएका छन्।
त्यसैगरी धादिङमा ९७, कास्कीमा ६६, सुनसरीमा ४९, म्याग्दीमा ३८, काठमाडौँमा ४३, भक्तपुरमा ३३ र ललितपुरमा १२ वटा केसहरु पाइएका हुन्। यो अवधिमा डेंगुबाट मृत्यु पुष्टि भएको छैन। फाट्टफुट्ट डेंगुका केस देखिए पनि अघिल्लो सालजस्तो नबढेको विभागले बताएको छ।
अघिल्लो वर्ष हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भएको थियो।
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो। एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन्।





प्रतिक्रिया