बैतडी : धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।
बैतडीका ८ ओटा स्थानीय तहहरुले आज आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछन् । बैतडीका २ ओटा पालिकाले यसअघि नै सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरिसेकका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका र मेलौली नगरपालिकाले शनिबार नीति तथा कार्यक्रम र बजेट सभामा पेश गरेका हुन् ।
जिल्लाको दशरथचन्द नगरपालिकाले नगरसभामा आज नीति तथा कार्यक्रम र बजेट पेश गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए । यस्तै पाटन नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट आज ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
यस्तै जिल्लाको पुर्चौंडी नगरपालिकाले आज आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सभामा पेश गर्ने तयारी गरेको नगर प्रमुख दिपकबहादुर बमले बताए । यस्तै डिलाशैनी गाउँपालिकाले पनि आजै नीति तथा कार्यक्रम र बजेट सभामा पेश गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
जिल्लाको दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट गाउँसभामा आज पेश गर्ने गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । यस्तै शिवनाथ गाउँपालिकाले पनि आजै नीति तथा कार्यक्रम र बजेट सभामा पेश गर्ने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।
जिल्लाको सिगास र पञ्चेश्वर गाउँपालिकाले पनि आजै सभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया